७ असोज, झापा । कृषि तथा पशुपन्क्षी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ व्यवस्था ल्याउन लागेको बताउनुभएको छ । झापाको बिर्तामोडमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले सरकारले ल्याउने नयाँ व्यवस्थाले कृषकका समस्या समाधान गर्ने दावी गर्नुभयो ।
उहाँले कृषि क्षेत्रमा ल्याइने नयाँ व्यवस्था संविधान बमोजिम हुने र त्यसले कृषि क्षेत्रको उत्पादन, प्राविधिक, किसानलाई दिइने सेवा, वित्तीय पहुँच, बीमा तथा उत्पादनको समर्थन मूल्य तोक्दै जाने गरी नयाँ कृषि व्यवस्था सरकारले ल्याउन लागेको जानकारी दिनुभयो । “नेपालमा कृषि कर्म गर्ने हरेक नागरिकले अब निराश हुनु पर्दैन”, मन्त्री भुसालले भन्नुभयो, “कृषकले उत्पादन गरेको हरेक बस्तुको सरकारले समर्थन मूल्य तोक्छ र त्यसको सुनिश्चितता गर्दै जाने छ ।”
कृषि क्षेत्रमा अहिले सयौं समस्या रहेको र त्यसलाई नयाँ व्यवस्थामा ढालेर समस्याको हल गर्न यो सरकार लागि परेको बताउँदै मन्त्री भुसालले अबको दुई तीन वर्षमा कृषि क्षेत्रमा नयाँ व्यवस्था ल्याएर कृषकका सबै समस्या हल गर्ने धारणा राख्नुभएको छ । उहाँले कृषि क्षेत्रमा ल्याइने नयाँ व्यवस्थाका लागि आफैंबाट शुसासनको काम शुरु गरेको बताउनुभयो ।