४ असोज, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुर्नगठन गर्नुहुने भएको छ । नेपाल कम्युनिस्ट पार्टी सचिवालय बैठकमा आज मन्त्रिमण्डल पुर्नगठनबारे गम्भीर छलफल भएको बताईएको छ ।
बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि मन्त्रिमण्डल पुर्नगठनबारे छलफल भएको बताउनुभयो । बैठकमा मन्त्रिमण्डल पुर्नगठनको मापदण्डबारे प्रधानमन्त्री ओलीले विकल्पसहित प्रस्ताव प्रस्तुत गरेको बुझिएको छ ।
बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुर्नगठन गरिहाल्ने हो भने सबै मन्त्री हटाएर नयाँलाई अवसर दिने प्रस्ताव राखेको बुझिएको छ । यस्तो अवस्थामा प्रधानमन्त्रीबाहेक सबै मन्त्री फेरिने पक्का छ । तर, बैठकमा अधिकांश सचिवालय सदस्यहरुले मन्त्रीहरुको कामको मुल्यांकनलाई आधार बनाएर हटाउने र राख्ने गरी मापदण्ड बनाउनुपर्नेमा जोड दिएको बुझिएको छ ।
प्रधानमन्त्री ओलीले राखेको प्रस्तावबारे अझै टुंगो भने लागेको छैन । विशेषगरी नामको बारे कुरा उठाउनुपूर्व मापदण्डको विषय आएको थियो ।
साँढे दुई वर्ष मन्त्री भइसकेकालाई फेर्नुपर्ने आशयका साथ केही सचिवालय सदस्यहरुले कुरा राखेका थिए । यस्तो अवस्थामा प्रधानमन्त्री ओलीका विश्वासपात्र रहेका मन्त्रीहरु समेत फेरिन सक्छन् ।