४ असोज, इलाम । पुर्वी पहाडमा पहिलो पटक इलाम अस्पतालमा भेन्टिलेटर मेसिन जडान गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इलाम अस्पताललाई दुई थान भेन्टिलेटर र दुई थान फोटो थेरापी मेसिन प्रदान गरेको हो । संविधानसभा अध्यक्ष सुवास चन्द्र नेम्बाङ पहलमा स्वास्थ्य मन्त्रालयबाट प्राप्त सामग्री शनिबार जिल्ला समन्वय समिति प्रमुख तथा इलाम अस्पताल प्रमुख गणेशप्रसाद बराललाई हस्तान्तरण गरिएको छ ।
सामग्री बुझ्दै प्रमुख बरालले स्वास्थ्य सेवामा इलाम अस्पताल पूर्वीपहाडमै एक कदम अघि बढेको बताउनुभयो । भेन्टिलेटर सञ्चालन गर्न जनशक्तिलगायत अन्य पूर्वाधार पनि आवश्यक पर्ने भएकाले केही महिनापछिदेखि मात्रै यसले सेवा दिने अस्पतालले जनाएको छ । अस्पताल व्यवस्थापक क्षितिज खतिवडाका अनुसार यो उपकरण सञ्चालनका लागि एकजना एनेस्थेसिया चिकित्सक र एक तालिमप्राप्त नर्स आवश्यक पर्ने भएकाले पदपुर्तीका लागि सुचना प्रकाशन गरिएको छ । उहाँका अनुसार अस्पतालको कोठा र बेड पनि व्यवस्था गर्नुपर्ने भएकाले सेवा सुरु गर्न केही समय लाग्ने छ ।
इन्टेन्सिभ केयर युनिट (आइसियु) सेवा सञ्चालन भएपछि अन्य विशेषज्ञसमेत आवश्यक पर्ने खतिवडाले बताउनुभयो । अहिले इलाम अस्पतालमा ९ विशेषज्ञ चिकित्सकको दरबन्दी रहेपनि ३ जनामात्रै कार्यरत छन् ।