३ असोज, इलाम । इलामको चुलाचुली गाउँपालिकामा पनि ५औँ संविधान दिवस (राष्ट्रिय दिवस) दिप प्रज्वलन गर्दै मनाईएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चुलाचुली गाउँ कमिटी र अनेरास्ववियू चुलाचुलीको सहकार्यमा आज साँझ चुलाचुली ५ स्थित हाङ्देवा चौकमा दिप प्रज्वलन गरिएको हो ।
नेकपा चुलाचुलीका अध्यक्ष शुक्र लावती (तुला)को अध्यक्षतामा भएको कार्यक्रममा नेकपा प्रदेश–१ कमिटी सदस्य कान्छा लावती, नेकपा जिल्ला कमिटी इलामका सचिवालय सदस्य तथा चुलाचुलीका ईन्चार्ज ओमनारायण खनाल, नेकपा जिल्ला कमिटी सदस्य तथा चुलाचुली गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राई लयातको आतिथ्यता रहेको थियो । यसैगरी दिप प्रज्वलन कार्यक्रममा जननिर्वाचित वडाध्यक्षहरु, वडासदस्यहरु, चुलाचुली नेकपाका नेता कार्यकर्ता, अनेरास्ववियूका नेता कार्यकर्ता, राष्ट्रिय युवा संघका नेता कार्यकर्ताहरु लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रममा बोल्दै नेकपा जिल्ला कमिटी इलामका सचिवालय सदस्य तथा चुलाचुलीका ईन्चार्ज ओमनारायण खनालले नेपालको संविधान ऐतिहासिक र उत्कृष्ट संविधान रहेको बताउनुभयो । हजारौँ सहिदहरुको वलिदानीबाट जननिर्वाचित प्रतिनिधीहरुले बनाएको संविधान सिंगो नेपाल र आम नेपालीको पक्षमा रहेको बताउनुभयो । कसैलाई असन्तुष्टि भए निर्वाचनमा दुई तिहाई मत लिएर संसोधन गर्न पनि सुझाव दिनुभयो ।
त्यसैगरी कार्यक्रममा बोल्दै चुलाचुली गाउँपालिका अध्यक्ष समेत रहनुभएका नेकपा इलामका सदस्य प्रदिपचन्द्र राईले दिप प्रज्वलन कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिनुभयो । संविधान दिवसलाई सरकारले राष्ट्रिय उत्सवको रुपमा मनाउन आग्रह गरेको सन्दर्भमा नेकपाले दिप प्रज्वलन कार्यक्रम आयोजना गर्दा सरकारको कार्यक्रममा सकारात्मक प्रभाव परेको उहाँले बताउनुभयो ।