१ असोज, काठमाण्डौँ । राष्ट्रियसभाको रिक्त सदस्य पदमा मनोनयनका लागि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने भनेपनि आज बिहानसम्म सरकारको सिफारिस राष्ट्रपति कार्यालय शीतलनिवास पुगिसकेको छैन ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्य पदमा मनोनयन गर्ने निर्णय नै गरेको थियो । तर, मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता मन्त्री प्रदीप ज्ञवालीले पनि सोबारे निर्णय सुनाउनुभएन ।
सोमबारको मन्त्रिपरिषद्ले निर्णय गरेपनि सरकारका प्रवक्ताले गौतमको निर्णयबारे केही नबताएपछि यसबारे विभिन्न किसिमका टिकाटिप्पणी भैरहेका छन् ।
गौतमको सिफारिसबारे बिहीबार बिहान राष्ट्रपति कार्यालयका एक उच्च अधिकारीसँग बुझ्दा सिफारिस आइनसकेको जानकारी दिनुभयो ।
राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले पनि गौतमबारे कुनै सिफारिस आइनसेकेको बताउनुभयो ।