१ असोज, काठमाण्डौँ । आज बिहीबार देखि मध्यम र लामो दूरीको यातायात सञ्चालन भएका छन् । कोरोनाभाइरस (कोभिड–१९) को महामारीसँगै चैत्र १० गतेदेखि अर्थात १ सय ७८ दिनको प्रतिबन्धपछि आजबाट प्रतिबन्ध फुकुवा भएसँगै सवारीसाधनको सञ्चालन सुरु भएको हो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक भएपछि मंगलबारदेखि नै यातायात व्यवसायी र मजदूरहरु सवारीसाधन सञ्चालनको तयारी सुरु गरेका थिए । यातायात सञ्चालन सुरु भएपछि बाहिर यात्रुहरुको चहलपहल बढेको छ ।
सार्वजनिक सवारीसाधन सञ्चालन खुला गरे पनि अहिले कोरोनाको संक्रमण कम भएको भएको छैन । हिजोमात्रै देशभर १ हजार ५ सय ३९ जना नयाँ संक्रमित भेटिएका छन् । यो अहिलेसम्मकै सबैभन्दा धेरै हो ।
यसअघि पनि छोटो दूरीका सवारीसाधन सञ्चालनमा आएका थिए । ९८ दिनको प्रतिबन्धपछि सरकारले असार २५ गतेदेखि त्यस्ता सवारीसाधनको सञ्चालन खुला गरेको थियो । त्यसबेला जोरबिजोर प्रणाली अनुसार र आधा यात्रु एउटै जिल्लाभित्रको छोटो दूरीको सवारीसाधन चलाउने अनुमति दिइएको थियो । तर, विभिन्न जिल्लामा सुरु भएको निषेधाज्ञाका कारण छोटो दूरीका सवारीसाधन समेत लामो समय चल्न पाएका थिएनन् । अघिल्लो सातादेखि भने त्यस्ता सवारीसाधनको सञ्चालन सुचारु भएका थिए ।
अहिले खुला भएको मध्यम र लामो दूरीका लागि समेत स्वास्थ्य मापदण्ड अनिवार्य रुपले पालना गर्नुपर्ने व्यवस्था गरिएको छ । यसअनुसार सीट क्षमताको आधा यात्रु मात्रै राखेर सवारी सञ्चालन गर्नुपर्नेछ । सवारीसाधनभित्र सबैले मास्कको प्रयोग अनिवार्य गरिएको छ ।