३१ भाद्र, काठमाण्डौँ । क्याबिनेट बैठकमा उपस्थित मन्त्रीहरु नै चकित खाने गरी त्यही बैठकको निर्णयअनुसार निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त हुनुभएको छ ।
स्रोतका अनुसार बैठकपछि माइन्युट संशोधन गरेर डा. खतिवडा मन्त्रीसरहको सुविधा पाउने गरी सल्लाहकार नियुक्त हुनुभएको हो । सोमबार पर्यटन मन्त्री योगेश भट्टराईले आन्तरिक हवाइसेवा असोज ५ बाट शुरु हुने निर्णय सुनाउनुभयो । तर, मंगलबार सरकारको तर्फबाट परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बैठकका निर्णय सार्वजनिक गर्दा १ गतेको कुरा आएको छ । डा. खतिवडाबारे भएको निर्णय त बैठकमा उपस्थित मन्त्रीले चालै पाएनन् !
डा. खतिवडा सल्ललाहकार नियुक्त हुने खबर विभिन्न संञ्चारमाध्यमले यस अगाडी नै सार्वजनिक गरेको थियो ।
सल्लाहाकारमा खतिवडालाई किन ल्याईयो ?
क्याबिनेट बैठकको बामदेवसम्वन्धी निर्णयबारे केही नबोलेर सोमबार साँझको बैठक सकिएपछि थपिएको निर्णयचाहिँ हिजो अपरान्ह सार्वजनिक गरिएको छ ।
सङ्गै प्रदिप ज्ञवालीलाई परराष्ट्रको जिम्मेवारीबाट सञ्चारतिर लैजान सकिने संकेत गरिएको छ । खतिवडालाई बालुवाटारको गौंडामा राखेर विमला पौडेल राईलाई अर्थ राज्यमन्त्री बनाई त्यताको काम चलाउने सोच रचिएको स्पष्ट हुँदै गएको छ । युवराजलाई आर्थिक सल्लाहकार राखिनु भनेको अर्थमन्त्रीमा वरिष्ठ नेताहरु जान बाटो छेकिनु हो ।
स्रोतका अनुसार क्याबिनेट बैठकमा केही पनि जानकारी नगराई प्रधानमन्त्रीले मुख्य सचिवलाई खतिवडालाई विशेष आर्थिक सल्लाहकारमा नियुक्ति, ज्ञवालीलाई प्रवक्ताको जिम्मेवारीलगायतको माइन्युट गर्न लगाउनु भएको हो । मंगलबार मुख्यसचिव लोकदर्शन रेग्मीले टिपेर दिएको विवरण बताउने क्रममा ज्ञवालीले ती कुरा बाहिर ल्याउनुभयो ।
खतिवडालाई बालुवाटार वरिपरि राख्न यतिखेर स्वयम् प्रधानमन्त्रीको सल्लाहकार समूह पनि इच्छुक थिएन । तर पनि आफूलाई लागेपछि गरी छाड्ने प्रधानमन्त्री केपी शर्मा ओलीको चट्टानी अडानका सामु बालुवाटारको किचेन क्याबिनेटका सदस्यहरूसमेत खतिवडाको नियुक्तिपछि झस्किएको बताइन्छ ।
१० दिनअघि मन्त्रीबाट राजीनामा दिने क्रममा निकटवर्तीहरूसँग खतिवडाले आफूलाई बालुवाटारका हर्ताकर्ताले घेराबन्दीमा पारेको बताउनुभएको थियो ।
खतिवडालाई मनोवैज्ञानिक तवरले मन्त्रालयभन्दा माथि राखिएको अवस्थाले अब सितिमिति वरिष्ठ कमरेडहरूले अर्थमन्त्री बन्ने इच्छा नराखे हुन्छ । जोसुकै नेता अर्थमन्त्री बने पनि आफ्नो हिसाबले मन्त्रालय चलाउँदा खतिवडाले बालुवाटारको आडमा विभिन्न बहानामा भाँडभैलो मच्चाउने निश्चित छ ।
स्रोतका अनुसार जतिसुकै वरिष्ठ नेताले अर्थमन्त्रालयको जिम्मेवारी सम्हाले पनि सके आफूले, नसके प्रधानमन्त्रीको दौराको फेरो समाएर भएपनि मन्त्रीलाई हायलकायल बनाउने रणनीतिमा उहाँलाई विशेष आर्थिक सल्लाहकारको हैसियतमा राखिएको हो ।
बालुवाटारले अर्थराज्य मन्त्रीमा खतिवडाजस्तै प्रधानमन्त्रीको बोली नकाट्ने विमला राई पौडेलहरूको खोजी गरिरहेको छ । विकल्पमा दामोदर भण्डारीलाई पनि हेरिएको छ । विष्णु पौडेल अर्थमन्त्री हुँदा भण्डारी अर्थ राज्यमन्त्री नै थिहुनुहुन्थ्यो ।
बालुवाटारले भण्डारी र राईमध्ये राईलाई धेरै हिसाबले सहज अर्थ राज्यमन्त्रीको रूपमा अथ्र्याएको स्रोतको भनाई छ । विमला नियुक्त हुँदा शीतल निवासले समेत शीतलता महशुस गर्नेछ । खतिवडाले पनि ‘अर्थशास्त्र पढेकी’ भन्दै मुण्टो हल्लाउने छन् । त्यस्तो अवस्थामा माथिबाट मन्त्रालय चलाउन कुनै बेरोकतोक हुने छैन । तर, भएकै तीन जना राज्यमन्त्री झिक्ने भनिराखिएको बेला नयाँ राज्यमन्त्री नियुक्ति कसरी सम्भव होला, प्रष्ट छैन ।
पार्टीका वरिष्ठ नेताले मन्त्रालयको जिम्मेवारी सम्हाल्दा माथिकालाई पनि आफूले भनेझैँ गर्न गराउन बेला बेलामा हम्मे पर्छ । मन्त्रीलाई पनि बालुवाटारको तारन्तारको दबाब पाच्य हुँदैन । त्यस्तो अवस्थामा खतिवडाजस्तै ‘पुस्तके अर्थशास्त्री’लाई मन्त्रालयको जिम्मेवारी दिँदा सबैलाई हाइसञ्चो हुने छ । यो समाचार अनआस्थाले सम्पेषण गरेको छ ।