
३१ भाद्र, सप्तरी । सप्तरीमा न्याय नपाएपछि एक बलात्कृत किशोरीले आत्महत्या गरेकी छिन् । बलात्कारीहरूविरुद्ध प्रहरी चैकीमा उजुरी गर्न गाउँलेहरूले नै रोक लगाउँदै चेतावनी दिएपछि डाकनेश्वरी नगरपालिका–७ ललितपुरकी १७ वर्षीया किशोरीले हिजो साझ आत्महत्या गरेको सप्तरी प्रहरीले जनाएको छ ।
अस्ति सोमबार बिहान धानखेतमा पानी हाल्न गएकी किशोरीमाथि सामूहिक बलात्कार भएको पीडितकी आमाले बताईन् । उनका अनुसार आरोपित चार जनाविरुद्ध प्रहरी कार्यालय जान खोज्दा केही गाउँलेले भेला बसी उनीहरुलाई रोकेपछि छोरी निकै तनावमा परेकी थिइन् ।
घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोष खड्काका अनुसार पञ्चहरूको निर्णयबाट चित्त नबुझेपछि किशोरीले पीडा सहन नसकी आत्महत्या गरेकी हुन् । मण्डल समुदायका ८/१० जनाको छलफलले पीडित र उनकी आमालाई प्रहरी कार्यालय जान रोक लगाउँदै आरोपितहरूबाट रु ५५ हजार क्षतिपूर्ति भराउने निर्णय गरेको छिमेकीहरुले जानकारी दिए ।
साना घटनामा प्रहरी कार्यालय आउने तर संवेदनशील घटना लुकाउन खोज्ने प्रवृत्तिले प्रहरीलाई घटना अनुसन्धान गर्न र अपराधी पक्राउ गर्न समस्या हुने गरेको प्रहरी निरीक्षक खडकाले बताउनुभयो ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७