२८ भाद्र, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा¬)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । आज साँझ वालुवाटारमा भएको भेटवार्तामा पार्टी स्थायी कमिटी बैठकको समिक्षा गर्दै आगामी दिनमा कसरी अगाडि बढ्नेबारे कुराकानी भएको बुझिएको छ ।
पार्टीको निर्णय कार्यान्वयनका लागि सबै तहमा सर्कुलर जारी गर्ने अध्यक्षद्वयले टुंगो लगाउनुभएको स्रोतले बतायो । आजको बैठकमा मन्त्रीमण्डल पुर्नगठनबारे छलफल अगाडि बढेको पनि स्रोतको दावि छ ।
यसअघि दुवै अध्यक्ष बसेर मन्त्रीमण्डल पुर्नगठनको मापदण्डबारे सहमति गरिसक्नुभएको छ । जसमा दुई वर्ष मन्त्री भइसकेकालाई बिदाई दिने तय भएको छ । अब मन्त्रीमण्डलमा जतिसक्दो छिटो पुर्नगठन गर्नेबारे छलफल भएको छ ।
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्तिका अलावा संवैधानिक आयोगहरुमा रिक्त पदहरुका बारे समेत छलफल भएको छ ।
दुवै नेता प्याकेजमा सहमति निकालेर नियुक्तिका बारे अगाडि बढ्ने निर्णयमा पुगेको स्रोतको भनाई छ ।