जसपा समायोजनः भागबण्डा नमिल्दा ‘हात्ती छिर्यो पुच्छर अड्कियो !’

जसपा समायोजनः भागबण्डा नमिल्दा ‘हात्ती छिर्यो पुच्छर अड्कियो !’


२५ भाद्र, काठमाण्डौँ । नवगठित जनता समाजवादी पार्टी (जसपा)नेपालको समायोजन प्रक्रिया अल्झिएको छ । तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालका कारण समायोजन प्रक्रिया प्रभावित भएको हो ।

तत्कालीन राजपा नेपाल र समाजवादी पार्टीबीच एकीकरण भई बनेको जसपा नेपालमा समायोजन प्रक्रिया चुनौतीपूर्ण मानिँदै आएको छ । तत्कालिन राजपा नेपालको छ सदस्यीय अध्यक्षमण्डलबीच भागबण्डामा कुरा नमिलेपछि जसपा नेपालको समायोजन प्रक्रिया प्रभावित भएको हो ।

जसपा नेपालको केन्द्रीय कार्यसमिति सात सय ५१ सदस्यीय रहने छ । जसमध्ये कार्यकारिणी समितिका ५१ जना चयन भइसकेका छन् । बाँकी ७०० सदस्यमध्ये तत्कालीन राजपा नेपालबाट तीन सय ५० र समाजवादी पार्टीबाट तीन सय ५० जना रहनेछन् ।

स्रोतका अनुसार केन्द्रीय समितिमा महन्थ ठाकुर र राजेन्द्र महतोले ९५–९५ जना राख्दा महेन्द्र राय यादव र शरतसिंह भण्डारीका ४४–४४ र अनिलकुमार झा र राजकिशोर यादव पक्षका ३०–३० जना राख्नेगरी भागबण्डा मिलाइएको छ । तत्कालीन राजपा नेपालसँग एकीकरण भएका दुई साना दलका ५–५ जनालाई पनि केन्द्रीय कार्यसमितिमा स्थान दिइने भएको छ ।

तत्कालिन राजपा नेपालको कोटामा परेको ३५० सिटमध्ये जसपा नेपालको केन्द्रीय समितिमा महन्थ ठाकुर र राजेन्द्र महतोले आफ्ना मान्छे बढी राख्नुभएको भन्दै महेन्द्र राय यादव, अनिलकुमार झा र राजकिशोर यादवले आपत्ति जनाउनुभएको छ । ।

महेन्द्र राय यादव, राजकिशोर यादव र अनिलकुमार झाले महन्थ ठाकुर र राजेन्द्र महतोले गरेका ९५–९५ को भागबण्डालाई स्वीकार गर्न नसकिने भन्दै विरोध गर्दै आउनुभएको छ ।

पार्टीको ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा महन्थ ठाकुर र उपेन्द्र यादव पार्टी अध्यक्ष तथा अशोक राई, डा.बाबुराम भट्टराई र राजेन्द्र महतो वरिष्ठ नेता गरि पाँच जना पदाधिकारी हुनुहुन्छ । कार्यकारिणी समितिमा राजपाबाट प्रतिनिधित्व गर्ने २६ जनामध्ये महन्थ ठाकुरले आफूसहित आफ्नै पक्षका १० जना राख्नुभएको छ भने राजेन्द्र महतोले आफूसहित आफ्नो पक्षका ९ जना राख्नुभएको छ ।

बाँकीमध्ये महेन्द्र राय यादव पक्षका ३, शरतसिंह भण्डारी पक्षका २ जना राखिएकोमा राजकिशोर यादव र अनिलकुमार झाको खेमाबाट एकजना पनि नराखिएको भन्दै विरोध भयो । त्यसपछि महन्थ ठाकुरले आफ्नो पक्षबाट विजयकुमार सिंह र रामकुमार ओझालाई हटाएर अनिलकुमार झा र राजकिशोर यादवका एक–एकजना राख्नुभएको थियो ।

त्यतिबेला तत्कालका लागि विवाद सामसुम भए पनि अहिले केन्द्रीय समिति गठन हुन लाग्दा पुनः त्यही विवाद सतहमा आएको छ ।

महन्थ ठाकुर, राजेन्द्र महतो र शरतसिंह भण्डारीले आ–आफ्नो भागवण्डा अनुसार नामावली तयारी गरिसक्नुभएको छ । तर महेन्द्र राय यादव, अनिलकुमार झा र राजकिशोर यादवले आफ्नो पक्षको नामावली हालसम्म तयार गर्नुभएको छैन ।

जसपाका अध्यक्ष महन्थ ठाकुरले भागबण्डा अनुसार आ–आफ्नो नामावली बुझाउने हो भने बुझाउनुस् नत्र आफूलाई प्राप्त नामावली पार्टीलाई बुझाउँछौ भनेर महेन्द्रराय यादव पक्षलाई चेतावनी दिनुभएको छ । यता, भागवण्डा नसच्चिएसम्म तीन नेताहरु अध्यक्ष ठाकुरलाई नामावली बुझाउने पक्षमा हुनुहुन्न । उहाँहरुले तत्कालीन राजपा नेपालको अध्यक्षमण्डलको बैठक बोलाएर भागवण्डामा पुनः छलफलको माग गरिरहनुभएको छ । तर केही दिनदेखि महन्थ ठाकुर, राजेन्द्र महतो र शरतसिंह भण्डारी घरमै हुनुहुन्छ ।

अझै केही दिन अध्यक्षमण्डलको बैठक बसेन भने महेन्द्र राय यादवहरुले आफ्नो नामावली जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवलाई बुझाउने मनस्थिति बनाउनुभएको बुझिएको छ ।

यता, अध्यक्ष उपेन्द्र यादवले समायोजन प्रक्रिया चाँडो टुङ्ग्याउन जरुरी रहेको भन्दै नामावली बुझाउनका लागि महन्थ ठाकुरलाई दबाब दिँइरहनुभएको छ । केन्द्रीय कार्यसमिति चयनमा ढिलाइ भएको भन्दै अध्यक्ष ठाकुरले नामावली नआएको अवस्थामा तत्कालिन समाजवादी पार्टीका तर्फबाट केन्द्रीय सदस्य रहनेहरुको नाम घोषणा गरेर केन्द्रीय कार्यसमितिलाई एउटा आकार दिने चेतावनी दिनुभएको छ ।

तर यसमा अध्यक्ष उपेन्द्र यादव सकारात्मक हुनुहुन्न । उहाँले यति धेरै वरिष्ठ नेता बनाउने हो भने बाहिर राम्रो सन्देश नजाने भन्दै त्यस्तो नगर्न राजपा नेपालका नेताहरुलाई आग्रह गर्नुभएको छ । यी चारजनालाई वरिष्ठ नेता बनाइयो भने जसपा नेपालमा सातजना वरिष्ठ नेता हुनेछन् । यसअघि डा.बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र महतोलाई वरिष्ठ नेता बनाइएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर