२३ भाद्र, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘साक्षर नेपाल’ निर्माणको अभियान सफल तुल्याई साक्षरोत्तर शैक्षिक भविष्य सुनिश्चित गर्ने सफलताका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले ५४ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आज सन्देश दिँनुहुँदै संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहको शिक्षा निःशुल्क पाउने हक सुनिश्चित गरेकाले यस्तो संवैधानिक सुनिश्चिततालाई सरकारले कार्यान्वयन गरेको उल्लेख गर्नुभयो ।
उहाँले विद्यालय जाने उमेर नाघेका नागरिकका निमित्त जीवन उपयोगी शिक्षाका अवसर प्रदान गर्दै जीवनपर्यन्त सिकाइका अवसर जुटाउने विषयसमेत सरकारको प्राथमिकतामा रहेको जनाउँदै यसका निमित्त साक्षरता तथा साक्षरोत्तर कार्यक्रमका साथै स्वअध्ययनलाई प्रवद्र्धन गर्ने कार्यक्रम सञ्चालनमा ल्याइएको अवगत गराउनुभयो ।
प्रधानमन्त्री ओलीद्धारा जारी विज्ञप्तीमा सरकारले १५ वर्ष र सोभन्दा माथिको उमेर समूहका सबै नेपाली नागरिकलाई न्यूनतम साक्षरताको अवसर प्रदान गर्ने र जीवन पर्यन्त सिकाइको आधार तयार गर्ने उद्देश्य राखेको र यसका लागि हामीले साक्षर नेपाल वर्षको अवधारणा पत्र २०७६ स्वीकृत गरेको कुरो पनि उल्लेख छ ।
तयसको सफल कार्यान्वयनमा प्रभावकारिता, सहजता, स्पष्टता र एकरुपता ल्याउन स्थानीय तह प्रदेशलगायत सम्बन्धित निकाय, सङ्घ संस्था र सरोकारवालाको अझै सक्रिय भूमिका आवश्यक रहेकामा समेत प्रधानमन्त्री ओलीले जोड दिनुभएको छ ।