१४ भाद्र, इलाम । इलाममा किवी जोन सञ्चालनमा आएको दुई बर्ष बितिसक्दा पनि कृषकले सोचे जति आम्दानी लिन सकेका छैनन् । बजार, चिस्यान केन्द्र र उचित मूल्य नपाउनु कृषकहरुका लागि चिन्ताको बिषय बनेको छ ।
यतिखेर इलाममा रातो किवी पाक्न थालेसँगै किसानमा अर्काे चिन्ता थपिएको छ । कोरोना संक्रमणका कारण उत्पादित किवीले बजार नपाउँदा कृषकहरु अन्यौलमा परेका छन् ।
‘एकातिर बजार छैन, अर्काेतिर भण्डारण गर्ने चिस्यान केन्द्रहरु पनि छैनन्’ बिगत छ बर्षदेखि किवी खेती गर्दै आउनुभएका इलाम बरबोटेका कृषक महानन्द ओझाले भन्नुभयो ।
‘सरकारले बजार व्यवस्थापन नगर्नु र आफैंले बजार खोजेर बेच्नुपर्ने भएकाले समस्या थपिएको सन्दकपुर गाउँपालिका–३, तालगाउँका कृषक तारामणि खतिवडाले बताउनुभयो ।
किवीको लागि छुट्टै शित भण्डार चाहिन्छ, यसलाइ अन्य फलफूल, तरकारीसँग राख्न मिल्दैन, भएका कोल्ड स्टोर पनि सञ्चालनमा नआउँदै बन्द भएका छन् । राम्रो व्यवस्थापन गर्न सके ८–९ महिनासम्म यसलाई भण्डारण गरेर राख्न सकिने र वेमौसममा पनि राम्रो मूल्य पाउन सकिने तर सम्बन्धित निकाय, गाउँपालिका, नगरपालिकाले कुनै चासो नदेखाएको खतिवडाले बताउनुभयो ।
अघिल्लो बर्षको तुलनामा रेड किवी १०० गुणा धेरै फलेको र यो सिजनमा ३५ हजार केजीसम्म उत्पादन हुने किसानको भनाइ छ । कृषि मन्त्रालय, स्थानीय निकाय, विभिन्न समूह, सहकारीहरुले अन्य कृषिजन्य पदार्थमा जस्तै किवीलाई विशेष अनुदान, प्याकेजिङको व्यवस्था गर्नुपर्ने किसानहरु बताउँछन् ।