१३ भाद्र, उदयपुर । कोरोना संक्रमणको अवस्था स्थिर रहेपछि उदयपुरका तीन नगरपालिकामा १५ दिनदेखि जारी निषेधाज्ञा हटाउने निर्णय भएको छ ।
प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेको अध्यक्षतामा बिहीबार बसेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र र सुरक्षा समितिको संयुक्त बैठकले सिमामा कडाई गर्दै आउँदो शनिबार देखि निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।
बैठकले कोरोना भाईरसको भयाभह अवस्था रहेका सुनसरी, सिरहा, सप्तरी जिल्लासँग जोडिएका नाकामा वाह्य आगमनलाई ठप्प पार्ने र सरकारले रोक लगाएका वाहेका व्यापार, व्यवसायलाई सुचारु गर्ने निर्णय गरेको प्रजिअ पाण्डेले बताउनुभयो ।
मालपोत कार्यालयका सात जना कर्मचारी र बेलका नगर क्षेत्रमा समुदाय स्तरमा कोरोना भाईरसको संक्रमण देखिएसँगै स्थानीय प्रशासनले पहिलोपटक श्रावण २८ गते राती १२ बजेदेखि भदौ ७ गतेसम्म निषेधाज्ञा जारी गरेको थियो ।
संक्रमितका सम्र्पकमा आएका व्यक्तिलाई निगरानीमा राख्ने र उनीहरुको पिसिआर परीक्षणलाई तिव्रता दिने भन्दै प्रशासनले पहिलोपटक १० दिन र दोश्रोपटक भाद्र ७ देखि १२ गतेसम्म पाँच दिनका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको थियो ।
विश्व स्वास्थ्य संगठनको मापदण्डका आधारमा सम्र्पकमा रहेका व्यक्तिलाई १४ दिनसम्म राख्दासमेत कुनै लक्षण देखा नपरेको र पिसिआर रिर्पाेट समेत नेगेटिभ आएपछि निशेधाज्ञा हटाउने निर्णय भएको प्रजिअ पाण्डेले बताउनुभयो ।