१२ भाद्र, काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा)का केही नेताहरुबीच गोप्य बैठक सम्पन्न भएको छ ।
वरिष्ठ नेता डा.बाबुराम भट्टराईका भाई शिव भट्टराईको निजि निवास कोटेश्वरमा जसपाका वरिष्ठ नेताहरु डा.भट्टराई, अशोक राई र राजेन्द्र महतोबीच छलफल भएको स्रोतले बतायो ।
आज नेताहरुबीच छलफल भएपनि कुनै कुरामा सहमति बन्न सकेन । नेताहरु आ–आफ्नै अडानमा टसमस रहे । समाजवादी र राजपाबीच एकीकरणपछि जनता समाजवादी पार्टी बनेको पाँच महिना बित्दा पनि समायोजन सम्पन्न भएको छैन ।
नेताहरुले त्यसका लागि पटक पटक छलफल गरे पनि कुनै सहमति गर्न सकेका छैनन् । ५१ सदस्यीय कार्यकारिणी समिति बनेको छ ।
केन्द्रीय समिति, सचिवालय, राजनीतिक समिति, संघीय परिषद्, केन्द्रीय सल्लाहकार समितिलगायत विभिन्न आयोगहरु गठन गर्नुपर्ने हुन्छ ।
त्यसमा छलफल हुन बाँकी नै छन् तर शीर्ष नेताहरुलाई कसरी व्यवस्थापन गर्ने विषयमा नै कुरा मिलेको छैन । यस्तै ससदीय दलको नेता को हुने, कतिजना महासचिव बनाउने, डा.बाबुराम भट्टराईलाई संघीय परिषद्को अध्यक्ष दिने कि नदिने भन्ने विषयमा पार्टीभित्र विवाद छ ।
महतोले जसपाको संसदीय दलको नेता आफूलाई बनाउनुपर्ने अडानमा हुनुहुन्छ । तर त्यसमा तत्कालीन समाजवादी पार्टीका नेताहरुले सहमति जनाएका छैनन् ।
संसदीय दलको नेता आफु नै बन्ने उपेन्द्र यादवको दाउ छ । जसपा नेपालमा संघीय परिषद्को पनि व्यवस्था छ । त्यसको एकजना अध्यक्ष रहने व्यवस्था विधानले गरेको छ तर हालसम्म त्यो अध्यक्ष पद खाली रहेको छ ।
उच्च स्रोतका अनुसार आजको छलफल पनि यिनै विषयमा केन्द्रित थियो । छलफल सकारात्मक भए पनि सहमतिको विन्दुमा नेताहरु पुग्न नसकेको स्रोतले बतायो ।