९ भाद्र, धनकुटा । लकडाउनको मौका छोपेर तराईको विभिन्न ठाउँबाट धनकुटा लगायत कोशी पहाडी जिल्लाहरुमा आउने व्यापरीले चर्को मुल्यमा स्वास्थ्य सामाग्री विक्री गर्ने गरेको पाइएको छ । प्रहरीसंगको मिलेमतोमा उनिहरुले यो कार्य गरिरहेको खुलासा भएको हो ।
जिल्ला प्रशासन कार्यालय धनकुटामा स्थानिय पत्रकारहरु र जिल्लाका सुरक्षा निकायका प्रमुखहरु विच कोरोना भाइरसका कारण पछिल्लो समयमा जारी लकडाउनको प्रभावको विषयमा भएको छलफल कार्यक्रममा स्वास्थ्य सामाग्रीको खरिदमा तोकिएको भन्दा दोव्वर मुल्य अशुल्ने गरेकोे रहश्य खुलेको हो ।
कार्यक्रममा स्थानिय पत्रकारहरुले लामो समय देखी भईरहेको लकडाउनको कारण जिल्लामा देखिएका प्रभाव र उत्पन्न समश्याहरुको बारेमा सुरक्षा निकायका प्रमुखहरुलाई जानकारी गराएका थिए । नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठको अगुवाईमा पत्रकारहरु भेटघाट तथा छलफलमा सहभागी भएका थिए ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ धनकुटा शाखाका पुर्व अध्यक्ष मोहन वान्तावाले लकडाउनको अवधीमा भेडेटारमा प्रहरीले तराईका जिल्लाहरुबाट सामान विक्रि गर्न आउने सवारी साधनहरु र व्यापारीबाट रकम असुुल्ने गरेको बताउनुभयो । वान्तावाले तराईका जिल्लाबाट धनकुटा, हिले लगायत पहाडी जिल्लामा लुकिछिपी स्वास्थ्य सामाग्री ल्याएको भन्दै महँगो दाममा अन्य सामाग्री विक्रि गर्न ल्याउने क्रममा प्रहरीले नगद असुल्ने गरेको जानकारी गराउनुभयो । उहाँले तराईका जिल्लाहरुबाट विहानी पख भागेर आउने र भेडेटारबाट प्रहरीको मिलेमतोमा धनकुटा प्रवेश गरेर पहाडी वजारमा छिर्ने गरेको कारण कोरोना भाईरसको संक्रमण फैलने खतरा वढेको बताउनुभयो ।
उक्त अवसरमा नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठले जिल्ला सदरमुकाम धनकुटामा कार्यरत राष्ट्रसेवक कर्मचारीहरुलाई शुक्रवार तराई झर्न नदिन प्रजिअ केशव प्रसाद विमलीलाई आग्रह गर्नुभयो । अध्यक्ष श्रेष्ठले धनकुटामा कार्यरत कर्मचारीहरु हरेक शुक्रवार तराईमा आफ्नो घर झर्ने र आईतवार विहान धनकुटा आउने क्रमले कोरोना भाईरसको संक्रमण धनकुटामा वढ्ने खतरा भएकाले तत्काल रोक्ने आग्रह गर्नुभएको हो ।