८ भाद्र, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच कार्यदलले बुझाएको प्रतिवेदनमा छलफल हुँदैछ ।
महासचिव विष्णु पौडेलको नेतृत्वमा गठन भएको ६ सदस्यीय कार्यदलले पार्टीभित्रको आन्तरिक विवादको समाधानको लागि महत्वपूर्ण सुझाव समेटेर गत शनिबार अध्यक्षद्धयलाई प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनमा केन्द्रित रहेर अध्यक्षद्धयबीच विस्तृतमा छलफल हुँदैछ ।
नेकपा सचिवालयको बैठकले अघिल्लो साता महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलका सदस्यहरुमा ओली पक्षका महासचिव पौडेल र शंकर पोखरेल सदस्य हुनुहुन्थ्यो भने प्रचण्ड पक्षका जनार्दन शर्मा र पम्फा भुसाल सदस्य हुनुहुन्थ्यो । त्यस्तै माधव नेपाल पक्षका सुरेन्द्र पाण्डे र भीम रावल कार्यदलमा हुनुहुन्थ्यो ।
कार्यदलले निषेधाज्ञा सकिएलगत्तै स्थायी कमिटीको बैठक राख्न सिफरिस गरेको छ भने सचिवालयको बैठक तत्काल बस्न सकिने सुझाव दिएको छ ।
आगामी चैत्र २५ देखि ३० गतेसम्म महाधिवेशन गर्न सुझाइएको छ । महाधिवेशनपूर्व गरिनुपर्ने सदस्यता वितरण, दस्तावेजीकरण लगायतका विषयहरुको तयारीका लागि असोजको अन्तिम साता केन्द्रीय कमिटीको बैठक राख्नुपर्ने सुझाव कार्यदलले दिएको छ ।
यस्तै कार्यदलले पार्टी एकताको स्पिरिट अनुसार आगामी महाधिवेशन बहुमतीय आधारमा नभएर सहमतिको आधारमा गर्नुपर्ने सुझाव दिएको स्रोतको भनाई छ । यसको अर्थ महाधिवेशनपछिको नेतृत्व निर्वाचनका आधारमा नभएर ‘भागवण्डा’का आधारमा हुनेछ ।
आज हुने दुई अध्यक्षबीचको छलफलले तत्कालै सचिवालय बैठक बोलाउन सक्ने र सरकार हेरफेरका विषयमा छलफल गर्ने नेकपा उच्च स्रोतले बतायो ।