६ भाद्र, सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले गृह मन्त्रालय शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाको निर्देशन अनुसार जिल्लामा अनुगमन तिव्र बनाएको छ । जिल्ला स्तरीय संयुक्त अनुगमन टोलीले जिल्लाको इटहरी लगायतका क्षेत्रहरुमा मास्क नलगाई हिड्ने, विना काम हिड्नेलाई सचेत गराउन सुरु गरेको छ ।
पछिल्ला केही दिनयता दैनिक कोरोना संक्रमणको दर बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाभर लागु हुने गरी निषेधाज्ञा जारी गरेकोमा यस अवधिमा जनचेतना जगाउने उद्देश्यले अनुगमनलाई तीव्रता दिएको छ ।
कोरोना संक्रमण समुदायमा फैलिएसँगै यसको रोकथाम तथा नियन्त्रणमा जुटेको जिल्ला प्रशासन कार्यालय सुनसरीले बुधबार अनुगमन कार्यलाई निरन्तरता दिदै इटहरी उपमहानगरपालिकाको मुख्य चोक र इटहरी वडा नं. १२ (खनार) बजारमा अनुगमन गरी चार सय भन्दा बढि पैदल यात्रीलाई सचेत गराउनुका साथै नौ जनालाई संक्रमण रोग ऐन २०२० बमोजिम रु एक सयको जरिवाना समेत गरेको जानकारी संयुक्त अनुगमन समितिका संयोजक तथा जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकिय अधिकृत सुधिर साफीले बताउनुभयो ।
समुदाय स्तरमै कोरोनाको संक्रमण तिब्र गतिमा बढिरहेको बेलामा संक्रमणको जोखिमबाट नागरिकलाई जोगाउन अनुगमन कार्यलाई निरन्तरता दिईएको बताउँदै अधिकृत साफीले संक्रमण रोग ऐन २०२० को दफा २ बमोजिमको आदेश उल्लंघन गरी बाहिर निस्कनेलाई ऐनको दफा ३ बमोजिम रु १०० जरिवाना गरिएको र अब उप्रान्त नेपाल सरकारको आदेश उल्लंघन नगर्ने, यदि गरेमा कानुन बमोजिम कारबाही हुने विषयमा सचेत गराईएको अधिकृत साफीले जानकारी दिनुभयो ।