
३१ श्रावण, सिन्धुपल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ स्थित लिदीगाउँलाई स्थानान्तरण गरिने भएको छ । गृहमन्त्री रामबहादुर थापाले सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित लिदीको बस्ती स्थानान्तरण गरी उचित स्थानमा बासस्थानको व्यवस्था मिलाइने बताउनुभएको हो ।
पहिरोग्रस्त क्षेत्रमा शुक्रबार पुगेर स्थलगत अनुगमनपछि उहाँले सो कुरा बताउनुभएको हो । शुत्रवार बिहान खसेको पहिरोमा परेर ११ जनाको मृत्यु भएको छ भने अन्य २७ जना बेपत्ता छन् ।
मन्त्री थापाले अझै ठूलो क्षति हुन सक्ने अवस्था देखिए पनि पूर्वसावधानी अपनाउँदा कम क्षति भएको बताउनुभयो । सरकारका तर्फबाट उद्धारलाई छिटोभन्दा छिटो अघि बढाउने र पुनःनिर्माणको काम तीव्र बनाइने गृहमन्त्रीको भनाइ थियो ।
उहाँले लिदी गाउँ जोखिमयुक्त ठाउँमा रहेको निष्कर्षका आधारमा स्थानीय प्रशासनले सचेतना अपनाउन आग्रह गरे पनि क्षति भएको भन्दै दुःख व्यक्त गर्नुभयो ।
मन्त्री थापाले भन्नुभयो, “उहाँहरु साँझ सरेर अर्कै ठाउँमा बास बसे पनि बिहान घरमा फर्किएको समयमा पहिरो आएकोले क्षति हुन पुग्यो ।” पहिलो काम बेपत्ताहरुको खोज तथा उद्धार भएको भन्दै त्यसमा सक्रिय रुपमा सुरक्षाकर्मी खटिरहेको उहाँले बताउनुभयो । उद्धार सकिएपछि बस्ती स्थानान्तरण गरी पीडितका लागि उपयुुक्त स्थानमा बासस्थानको व्यवस्था मिलाउन प्रक्रिया शुरु गरिने उहाँले आश्वासन दिनुभयो ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७