३० श्रावण, झापा । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले जनस्तरबाट झापाको कनकाई नगरपालिका–४ कोटीहोममा स्थापित पिसिआर ल्याब दुई दिनभित्र अनुमति दिलाउने प्रतिबद्धता जनाउनुभएको छ ।
‘एकका लागि एक’ अभियानको अगुवाइमा कोटीहोमको समर्पण राष्ट्रिय अभियानको भवनमा बनेको ल्याबको आज निरीक्षण गर्नु हुँदै मुख्यमन्त्री राईले यस्तो प्रतिबद्धता जनाउनुभएको हो ।
“जनस्तरबाट स्थापित यो ल्याबलाई एकदुई दिनभित्रै अनुमति दिएर सञ्चालनको वातावरण बनाउँछु”–मुख्यमन्त्री राईले भन्नुभयो, “यो हाम्रो ल्याब हो, यसलाई तत्काल सञ्चालन गरिने छ ।”
अन्य स्थानका ल्याबभन्दा कनकाईको पिसिआर ल्याब निकै राम्रो व्यवस्थापनका साथ स्थापित भएको उहाँले निरीक्षणका क्रममा बताउनुभयो । निरीक्षणपछि मुख्यमन्त्री राईले भन्नुभयो, “ल्याबको अनुमति कहाँ पुगेको छ, पत्र कहाँ अड्किएको छ, विराटनगर पुग्ने बित्तिकै आजै म सबैभन्दा पहिला त्यसको खोजी र आवश्यक काममा लाग्नेछु ।”
सो अभियानका संयोजक, सदस्य, सहयोगीहरु सबैलाई यस्तो प्रशंसनीय कामका लागि प्रदेश सरकारका तर्फबाट उहाँले धन्यवाद ज्ञापन समेत गर्नुभयो ।
जनस्तरबाट एक करोडभन्दा बढी रकम जुटाएर ल्याब स्थापना गरिएको हो । ल्याब मेची प्रादेशिक अस्पताललाई हस्तान्तरण गरिए पनि अनुमति नपाउँदा सञ्चालनमा आउन सकेको छैन ।