३० श्रावण, सिन्धुपाल्चोक । अविरल वर्षाका कारण सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदिमा आज बिहान पहिरो जादा १३ घर पुरिएको छ । पहिरो विहान ६ बजेको समयमा गएको थियो ।
पहिरोले थप केही घरहरू जोखिममा रहेको जानकारी प्राप्त भएको गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङले बताउनुभयो ।
पहिरोले लामा गाउँ पुरिदा १३ घर पुरै क्षति भएको, १५ जना घाइते आफैँ निस्किएको, उद्धार गर्न जान सक्ने अवस्था नरहेको स्थानीय आशबहादुर तामाङले जानकारी दिनुभयो । पुरिएका पाँच घरका सबै सम्पर्कविहीन रहेको कति जना पुरिए भन्ने अझै खुल्न बाँकी रहेको तामाङले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले घटनास्थलमा सेना र प्रहरीलाई पठाएको जानकारी दिनुभयो । जनप्रतिनिधि एवं पार्टी नेतृत्वको टोली हेलिकोप्टरसहित उद्धारमा जाँदै गरेको बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले बताउनुभयो ।
-रेडियो नेपाल