२७ श्रावण, काठमाण्डौँ । राजधानीको टोखा नगरपालिका–१० स्थित गाेंगबु नवज्योति मार्गमा भएको विभित्स हत्याकाण्डका आरोपीलाई प्रहरीले पक्राउ पछि सार्वजनिक गरेको छ ।
रोल्पाका कृष्ण बहादुर बोहराको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेकी कल्पना मुडभरी (पौडेल)लाई प्रहरीले आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । हत्यापछि चितवन पुगेकी कल्पना कलाकार समेत रहेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कल्पनाले केही चलचित्रमा अभिनय गरेकी छिन् ।
उनले प्रहरीसँगको बयानमा नक्कली आइडी बनाएर फेसबुकमा नग्न तस्बिरहरु सार्वजनिक गरी ब्ल्याकमेल गर्न थालेपछि हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ ।
अपराध महाशाखाका एसएसपी दिपक थापाले बोहराले नक्कली फेसबुक आइडी बनाएर कल्पनालाई दुःख दिन थालेपछि नै हत्या गरेको बयान दिएको खुलाउनुभएको छ । बोहराले आफ्नो इच्छाबमोजिम चल्न कल्पनालाई वाध्य पारेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ । तस्बिर सार्वजनिक गर्दै दुःख दिन थालेको झोकमा हत्या गरेको भनेकी छिन् ।
हत्या गर्नुअघि शुरुमा बेहोश पार्ने औषधी खुवाएको र घाँटी थिचेर हत्या गरेको बयानमा भनेकी छिन् । त्यसपछि शव व्यवस्थापन गर्न हतियारको प्रयोग गरी टाउको र खुट्टा समेत अलग गरी सुटकेशमा राखेकी थिइन् । राति नै सुटकेशमा राखेको शव फालेकी थिइन् ।
यसअघि आइतबार फेला परेको टाउको र खुट्टा अलग अवस्थाको शव पहिचानसँगै घटनाबारे तथ्य खुलेको थियो । कृष्णबहादुर र कल्पना दुवै विवाहित हुन् । तर, कल्पना केही समय देखि पतिबाट अलग बस्दै आएकी छिन् ।