
२४ श्रावण, काठमाण्डौँ । हिजो (शुक्रबार) साँझ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमलाई उहाँकै निवास भैंसेपार्टीमा भेट्न प्रवक्ता नारायणकाजी श्रेष्ठ पुग्नुभयो । श्रेष्ठले नेकपा विवाद समाधानका विषयमा कुराकानी गर्नुभयो ।
उहाँले ओलीको राजीनामाको दबाब बलियो बन्दै जाँदा यताउता नहुने गौतमलाई आग्रह गर्नुभयो । गौतमको असन्तुष्टिबारे पनि बुझ्न खोज्नुभयो ।
स्रोतका अनुसार श्रेष्ठ अध्यक्ष प्रचण्डसँग कुरा गरेर गौतम निवास पुग्नुभएको थियो । तर, गौतमले आफू ६ बुँदे प्रस्तावबाटै सहमति निकाल्नुपर्ने पक्षमा रहेको स्पष्ट पार्नुभएको स्रोतको भनाई छ ।
गौतमले ६ बुँदे प्रस्तावको पक्षमा १६ जना स्थायी कमिटी सदस्य रहेको बताउनुभयो । केन्द्रीय कमिटीमा १२० भन्दा बढी सदस्य त्यसको पक्षमा रहेको तथ्यांक समेत प्रस्तुत गर्नुभयो । त्यसैले अब यसलाई नै मिलनबिन्दु बनाउनुपर्नेमा गौतमको जोड थियो ।
श्रेष्ठले स्थायी कमिटीमा अझै प्रचण्ड, माधव र झलनाथ समुहको बहुमत रहेको बताउँदा गौतमको यस्तो जवाफ आएको थियो ।
पछिल्लो समय बामदेवको १६ बुँदेमा रामबहादुर थापा बादल, योगेश भट्टराई, घनश्याम भुषाललगायतका नेताहरु पनि उभिएको स्रोतको दावी छ ।
प्रचण्ड र माधव नेपाल पक्षका केही स्थायी कमिटी सदस्यहरु पनि पार्टी फुट्न दिन नहुने पक्षमा बलियो गरी उभिएको र उनीहरुले पनि ६ बुँदे प्रस्तावमा सकारात्मक बनेको गौतमले बताउनुभएको थियो ।
उक्त प्रस्तावमार्फत ओलीलाई प्रधानमन्त्री र अध्यक्षमा कायमै राखी अर्ली महाधिवेशनमा जान प्रचण्डलाई पार्टीको सम्पूर्ण जिम्मेवारीसहितको कार्यकारी अध्यक्ष दिने गरी जानुको विकल्प नभएको गौतमको तर्क थियो । बरु ओलीले कार्यशैलीप्रति आत्मालोचना गरेर जानुपर्ने अवस्था सृजना गर्न सकिने समेत बताउनुभएको थियो ।
गौतमको कुरा सुनेर श्रेष्ठले टकराव निकै बढेको, ओलीले पटक पटक धोका दिएको विषय उठाएको बुझिएको छ । गौतमले पटक पटक धोका खाएको विषय पनि उल्लेख गर्नुभएको थियो ।
तर, गौतमले पार्टी विभाजनको पीडा आफूले विगतमा भोगिसकेकाले जस्तोसुकै अप्ठ्यारो सहेर भएपनि एकताको पक्षमा दृढतापूर्वक उभिने अडान राख्नुभएको थियो ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७