२२ श्रावण, काठमाण्डौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना संक्रमणको दर यही अवस्थामा रहेमा भदौदेखि शैक्षिक संस्था, हवाई उडान र सार्वजनिक यातायात संचालन गर्ने कार्यसूची परिमार्जन हुन सक्ने बताउनुभएको छ ।
काठमाडौंमा पत्रकारहरुसँगको अन्तरक्रियामा उहाँले ‘परीक्षण धेरै गरेको भए संक्रमित धेरै देखिन्थे, सरकारले परीक्षण नगरेको कारण संक्रमित भेटिएन’ भन्ने आरोपमा दम नरहेको समेत बताउनुभयो ।
उहाँले स्वास्थ्य सामग्री खरिद गर्दा ‘भ्रष्टाचारको बात लागेको’ गुनासोसमेत गर्नुभयो । अनियमितता भए नभएकोबारे छानविन भइरहेको र सत्यतथ्य बाहिर आउने विश्वास व्यक्त गर्दै उहाँले आफूविरुद्ध गलत आरोप लगाइएको प्रष्ट पार्नुभयो ।
उहाँले पैसा कमाउनुपर्ने अवस्था आएमा आफू राजनीतिमा नरहने पनि प्रष्ट पार्नुभयो । भ्रष्टाचार नगर्दा पनि आफूमाथि बात लागेको उहाँको गुनासो थियो ।
आजबाट जोरबिजोर प्रणाली लागुः
आज देखि जोरविजोर नम्बरका आधारमा यातायातका साधन चल्न दिने भएको छ । काठमाडौँ उपत्यका र कोभिड–१९ को २०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा अत्यावश्यक सेवाबाहेका सार्वजनिक र निजी सवारी साधन जोर बिजोर नम्बरका आधारमा चल्ने गृह मन्त्रालयले जनाएको छ ।
त्यस्तै काठमाडौँ उपत्यका प्रवेश गर्ने अत्यावश्यक ढुवानीबाहेकका सबै यात्रुवाहक सवारी साधनलाई बेलुका ७ देखि बिहान ७ बजेसम्म निषेध गरिएको व्यवस्थालाई कडाईका साथ लागू गर्ने निर्णय भएको मन्त्रालय प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिनुभयो । यस्तै २०० बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सवारी अवागमन बन्द गरिने छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा जारी जनस्वास्थ्यका मापदण्ड तथा गृह मन्त्रालयद्वारा जारी सुरक्षा मापदण्ड कडाईका साथ पालना गर्ने, गराउने, मास्क नलगाउने वा जनस्वास्थ्यका मापदण्डको उल्लङ्घन गर्ने व्यक्तिलाई दण्ड जविरवाना गर्ने र जनस्वास्थ्य मापदण्ड तथा सुरक्षा मापदण्ड उल्लङ्घन गर्ने व्यक्ति समूह तथा संस्था भए सोको सञ्चालकसमेतलाई कारबाही गरिने मन्त्रालयले जनाएको छ ।