२१ श्रावण, काठमाण्डौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका प्रचण्ड–माधवकुमार नेपाल पक्षका शीर्ष नेताहरुले पार्टीमा चलिरहेको बहस पदको झगडा नभएको प्रष्टिकरण दिएका छन् ।
आज पार्टीसम्वद्ध सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनीहरुले अध्यक्ष केपी ओलीको ‘म नै पार्टी हुँ’ भन्ने शैलीले पार्टी सञ्चालन गर्दा समस्या भएको बताए । त्यस्तै उनीहरुले विभिन्न प्रतिक्रियावादी शक्तिहरुले नेकपा फुटाउन नै लागिपरेकाले जस्तोसुकै परिस्थितिको पनि सामना गर्नुपर्ने अवस्था पनि आउनसक्ने भन्दै सतर्क, सजग र तयार रहन पार्टी पंक्तिलाई आह्वान गरेका छन् ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले कतिपयले पाटीभित्रको विवादलाई पद प्राप्तिका लागि भनेर प्रचारबाजी गरिरहेपनि मुलत त्यो प्रवृत्तिका विरुद्ध रहेको बताउनुभयो ।
उहाँले पदका लागि नेकपामा लडाईँ भइरहेको भनाइ र प्रचारमा कुनै सत्यता नरहेको पनि स्पस्ट पार्नुभयो । ‘नेककपालाई माक्सवाद, लेनिनवादबाट निर्देशित पार्टी बनाउने वा माक्र्सवादको लेपनमात्रै लगाउने ? अथवा बुर्जुवा मान्यतालाई पक्डेर जाने हो ? माक्र्सवादलाई सैद्धान्तिक मान्यता बनाउने हो भने समाजलाई रुपान्तरण र संगठित गर्दै जानुपर्छ । सवैले सैद्धान्तिक आधार मानेर चल्नुपर्छ’, प्रचण्डले भन्नुभयो, ‘अहिलेको मुल प्रश्न सत्ताले विवेकको नेतृत्व गर्ने कि विवेकले सत्ताको नेतृत्व गर्ने भन्ने मुख्य प्रश्न हो ।’
वरिष्ठ नेता झलनाथ खनालले नेकपा आन्तरिक चुनौतिबाट गुज्रदै अन्तरपार्टी संघर्षको अवस्थामा रहेको बताउनुभयो । उहाँले कतिपयले नेकपाभित्रको संघर्षलाई पद प्राप्तिका लागि भनेर प्रचार गर्न पार्टीकै केही नेता र व्यक्तिहरु लागि परेको बताउनुभयो ।
‘व्यक्तिको, पदको र जुगाँको लडाई भनेर एकथरीले प्रचार गरिरहेका छन् । कुरा त्यसो होइन, यो रुपान्तरणको लडाई हो । त्यसमा पनि केपी ओलीको रुपान्तरणका लागि गरिएको हो’, वरिष्ठ नेता खनालले भन्नुभयो, ‘दुई पार्टी एकता घोषणा भएको लामो समयसम्म एकीकरणको प्रक्रिया पुरा हुन नसक्नु, पार्टीकै एक अध्यक्षले पार्टीलाई भन्दा गुटलाई महत्व दिएर देशभर गुटका भेला चलाउनेजस्ता क्रियाकलाप बढेकाले त्यस्तो गुटबन्दी र प्रवृतिकाविरुद्ध बहस गर्नुपरेको छ ।’
अर्का वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली जनताले नेकपालाई आशा र भारोसाका रुपमा लिँदै जनमत दिएपनि त्यसअनुसार सरकारले जनताको भावना अनुसार काम गर्न नसकेको भन्दै असन्तुष्टि जनाउनुभयो । ‘जनताले कम्युनिस्ट पार्टीलाई ठुलो आशा, भरोसा र विश्वासका साथ मुलुक सम्हाल्ने जिम्मेवारी दिएका छन । तर,त्यो आशा, भरोसा र विश्वास अनुसार न सरकार चलेको छ न पार्टी ?’ नेता नेपालको भनाइ छ । उहाँले पार्टी विधि, पद्धति र घोषणापत्र अनुसार चल्न नसकेको भन्दै पार्टी कमिटिको बैठक नै नबस्ने र नरुचाउने प्रवृत्तिले नेकपा लठिभद्र र पार्टी एकता कागजमैमात्र सीमित हुन पुगेकोमा असन्तुष्टि जनाउनुभयो ।
यस्तै प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीमा दुई प्रकारका विवाद रहेको भन्दै त्यो यथास्थिति वा रुपान्तरण भन्ने रहेको बताउनुभयो । उहाँले सामाजिक न्यायसहितको सम्मृद्धिको लक्ष्य हासिल गर्न सैद्धान्तिक वैचारिक पक्षलाई आत्मसाथ गर्नसक्नुपर्ने बताउनुभयो । ‘तर अहिले सांगठानिक, विधि पद्दति निष्कृय, अकर्मण्य बैचारिक स्खलन र भ्रष्टीकरणतर्फ गइरहेको छ । पार्टीभित्र पनि नकारात्मक प्रचार भइरहेका छन्’, प्रवक्ता श्रेष्ठको भनाइ छ ।
के हो त विवाद ?
प्रचण्ड–ओली पक्षका शीर्ष नेताहरु नेताहरुले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भइरहेको बहस विचार, नीति, विधि, पद्धतीकै भएको बताएका छन् । चार नेताले पार्टीभित्र भइरहेको बहसलाई यसरी प्रष्ट्याउन खोजेका छन् ।
–माक्र्सवाद, लेनिनवादका आधारमा निर्देर्शित पार्टी बनाउने कि बुर्जुवा मान्यतालाई पक्रिएर जाने ?
– पार्टीलाई निश्चित राजनीतिक मान्यतामा संगठित गर्ने कि अराजक भीड बनाउने ?
– पार्टीको अधीनमा व्यक्ति हुने कि व्यक्तिको अधीनमा पार्टी ?
– विवेकले सत्ता चलाउने कि सत्ताले विवेक ?
– सामूहिक निर्णय व्यक्तिगत उत्तरदायी कि व्यक्तिगत निर्णय को सामूहिक जिम्मेवारी ?
पार्टीमा अध्यक्ष केपी ओलीसँग यस्तै विषयमा गम्भीर अन्तरसंघर्ष चलिरहेको नेताहरुले बताए ।