सुनको मूल्यले नयाँ कीर्तिमान बनायो, तोलाको १ लाख १ हजार ४०० पुग्यो

सुनको मूल्यले नयाँ कीर्तिमान बनायो, तोलाको १ लाख १ हजार ४०० पुग्यो

२१ श्रावण, काठमाण्डौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । पछिल्लो महिना सुनको मूल्यले एकपछि अर्काे कीर्तिमान बनाइरहेको बेला आज छापावाल सुनको मूल्य १ लाख १ हजार ४०० पुग्दै नयाँ कीर्तिमान कायम भएको हो ।

मंगलबार तोलामा ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बुधबार एकैदिन १६०० रुपैयाँले बढ्दै नयाँ कीर्तिमान कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्ने क्रम नरोकिएकाले अझै बढ्न सक्ने बताएको छ । महासंघले आज तेजावी सुनको मूल्य भने १ लाख ९०० रुपैयाँ रहेको बताएको छ ।

यसैगरी चाँदीको मूल्य आज १ हजार २९५ रुपैयाँ पुगेको छ । यसअघि मंगलबार चाँदीको मूल्य १२३० रुपैयाँ रहेको थियो ।

महासंघ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज सुनको भाउ प्रति औंस ४० डलरले बढेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानीकर्ता बढेका, सुनको उत्पादनमा कमी आएको, ठूला देशबीच द्वन्द्व बढेको तथा कोरोना सङ्क्रमणका कारण अस्थिरता बढेकाले सुनको भाउ निरन्तर बढिरहेको उहाँले बताउनुभयो ।

यस्तै अन्तर्राष्ट्रिय भाउमा नै भर पर्नुपर्दा नेपालमा सुनको भाउ महंगो भएको हो ।

प्रतिक्रिया:

सम्बन्धित खवर