२० श्रावण, इलाम । कुनै बेला एक लाख प्रतिमन बिक्री भएको अलैँचीको मूल्य निरन्तर ओरालो लागेको छ । पाँच वर्षअघि प्रतिमन एक लाख ३० हजारले बिक्री भएको अलैँची निरन्तर ओरालो लाग्दै हाल प्रतिमन २० हजार रुपैँयामा आइपुगेको छ ।
देशमा नै सबैभन्दा बढी अलैँची उत्पादन हुने जिल्ला इलाम हो तर, यहाँ जति अलैँची उत्पादन बढ्दै गयो त्यति नै भाउ ओरालो लागेपछि किसान चिन्तित बनेका छन् ।
जिल्लाका किसानले उत्पादन गरेको नगदेबालीमध्ये सबैभन्दा धेरै पैसा आउने नगदेबालीका रुपमा रहेको अलैँची भए पनि यस खेतीसँग लाग्ने किसानमा निराशा छाएको छ ।
अलैँचीको उत्पादन शुरु हुनै लाग्दा किसानमा कोरोनाका कारण अलैँची बिक्दैन कि भन्ने चिन्तासमेत बढ्न थालेको छ । ओसीलो ठाउँमा उत्पादन हुने अलैँचीलाई खोल्सीको कालो सुन भनेर चिनिने अलैँची सजिलो खेतीका रुपमा समेत पर्छ तर पहिला बढी मूल्यमा बिकेको वस्तु निरन्तर ओरालो लागेपछि स्थानीयवासी चिन्तित भएका हुन् ।
दैनिक उपभोग्य वस्तुको भाउ दैनिक बढे पनि अलैँचीको भाउ घटेपछि चिन्ता बढेको इलाम सन्दकपुरका किसान कोषराज खतिवडाले बताउनुभयो । उहाँको बगानमा अलैँची बढ्न थालेपछि भाउ घटेपछि जुन जोसका साथ अलैँची लगाइएको थियो त्यो जोस हराउँदै गएको बताउनुभयो ।
विश्व बजारमा सुनको भाउ बढ्दा अलैँचीको भाउ पनि बढ्ने गरेको थियो । तर यसपाली भने त्यो अवस्था भएन । हाल २० देखि २२ हजारसम्म प्रतिमन अलैँची किनबेच हुने गरेको व्यापारीको भनाइ छ ।
साउन अन्तिमदेखि अलैँचीको याम शुरु हुन्छ । तल्लो अर्थात औल क्षेत्रमा साउन अन्तिममा नै अलैँची पाक्छ भने जिल्लाको माथिलो भेगमा कार्तिक अन्तिम सम्ममा मात्र अलैँची टिप्ने गरिन्छ ।
पछिल्लो समय किसानले अन्नबाली नै मासेर अलैँची लाएका छन् । निरन्तर भाउमा गिरावट आएपछि चिन्ता छाएको माईजोगमाई गाउँपालिकाका हरि पोख्रेलले बताउनुभयो । भाउमा एकरुपता रहे खासै गाह्रो नभएपछि एकाएक गर्दै बर्सेनी भाउ ओरालो लागेपछि चिन्ता छाएको उहाँको भनाइ छ ।