१७ श्रावण, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बकर–इद (इदुल जोहा)ले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रवद्र्धन गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्वद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभएको छ ।
इस्लाम धर्मावलम्बीको पर्व बकर–इदका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले मुलुकमा स्थायित्व, आर्थिक विकास, समृद्धि र जनताको जीवनमा सुख हासिल गर्ने राष्ट्रिय आकाङ्क्षालाई सार्थक बनाउन यस पर्वले प्रेरणा प्रदान गरोस् भन्नेसमेत शुभेच्छा व्यक्त गर्नुभएको छ ।
नेपालमा धार्मिक, सांस्कृतिक र भाषिकलगायतका विविधतालाई संवैधानिकरुपमा सम्मान र संरक्षण गरिएको उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभएको छ, “विविधताबीचको एकता हाम्रो मौलिक पूँजी हो र यसका माध्यमबाट हामीले देशलाई विकास र समृद्धिको नयाँ उचाइमा पुर्याउनु पर्नेछ ।”
यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बकर ईदको अवसरमा शुभकामना दिदैँ नयाँ वैचारिक आधारमा नयाँ सोच र संस्कृतिको विकास गर्नु आजको आवश्यकता भएको बताउनुभएको छ ।
नेपाली जनताले नयाँ विचारको विकासका आधारमा मुलुकको आर्थिक समृद्धिका लागि आफ्नो अभिमत प्रकट गरेको शुभकामना सन्देशमा उल्लेख छ ।
‘जनताको यही आशा र भरोसाको सम्मान भनेको विचार अनुरुपको नेतृत्व निर्माण नै हो,’ प्रचण्डले भन्नुभएको छ, ‘यसको पक्षमा दृढतापूर्वक अघि बढ्न आग्रह गर्दै बकर इद् पर्वका अवसरमा सम्पूर्ण नेपाली जनसमुदायमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछु ।’