
१७ श्रावण, झापा । सरकारले कोरोना संक्रमणबाट बच्च सर्वसाधारणलाई अनिवार्य मास्क लगाउन भने पनि झापामा भने मास्क नलगाई बाटोमा हिँड्ने क्रम बढेको छ ।
कोरोना संक्रमण रोक्ने एकमात्र उपाय मास्क भएको भन्दै गृह मन्त्रालयले मास्क नलगाउने विरुद्ध कडा कारवाही गर्न मातहतका निकायलाई निर्देशन दिएको थियो । कोभिड–१९ संक्रमणको दर बढिरहेका बेला मास्कको प्रयोग घटेको भन्दै कडा रुपमा प्रस्तुत हुन गृहले मातहतका निकायलाई निर्देशन दिएको थियो । सोही निर्देशनको पालना गर्दै झापा प्रहरी पुनः सक्रिया भइरहेको छ ।
झापामा अहिलेसम्म मास्क नलगाई हिँड्ने १५ हजार सर्वसाधारणलाई कारवाही गरिएको प्रहरी प्रमुख कृष्ण कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार झापामा दैनिक ५ सयदेखि ७ सय जना सर्वसाधारणले यो नियम उल्लघंन गरिरहेका छन् ।
प्रहरी प्रमुख कोइरालाले ग्रामीण भेगमा भन्दा शहरी क्षेत्रमा मास्क नलगाउने क्रम बढेको बताउनुभयो । बाटोमा मास्क नलगाई हिँड्ने सर्वसाधारणलाई सुरुमा रोकेर सम्झाउने, बुझाउने काम भएको पनि उहााले जानकारी दिनुभयो ।
तर, अनिवार्य गरिएको मास्क नलगाउनेविरुद्ध प्रहरीले कारवाही स्वरुप जरिवाना १ सय रुपैयाँ लिएको उहाँले बताउनुभयो ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७