१७ श्रावण, काठमाण्डौँ । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको आज ६५औँँ वर्ष पुरा भएको छ । यसै अवसरमा दुवै देशका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीबीच बधाई सन्देश आदानप्रदान भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना चिनियाँ समकक्षी सी चिनफिङलाई सन्देश पठाएर राष्ट्रपति सी, चीन सरकार र त्यहाँका नागरीकमा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।
सन्देशमा राष्ट्रपति भण्डारीले नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति सीले गत अक्टोबरमा गर्नुभएको नेपालको ऐतिहासिक राजकीय भ्रमण तथा त्यस अवसरमा दुवै देशले आपसी सम्बन्धलाई अझ उन्नत तुल्याउन विकास र समृद्धिका लागि चिरस्थायी मैत्रीयुक्त सहयोगको रणनीतिक साझेदारीको निर्णय गरेका स्मरण राष्ट्रपति भण्डारीले गर्नुभएको छ ।
सन्देशमा राष्ट्रपति भण्डारीले गत अप्रिलमा आफूले गरेको चीनको राजकीय भ्रमण र त्यस बखत दुवै देशबीच भएका महत्वपूर्ण सम्झौता र समझदारीको पनि सम्झना गर्नुभएको छ ।