१५ श्रावण, काठमाण्डौँ । नेपालमा कोरोना भाईरसको संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मोरङमा एक र पर्सामा दुई जनाको कोरोनाका कारण मृत्यु भएको आजको प्रेस ब्रिफिङमा जानकारी दिनुभयो ।
मृत्यु हुनेमा मोरङको सुनवर्सी—८ का ४५ वर्षीय पुरुष, यस्तै पर्साको वीरगञ्ज—७ का ७० वर्षीय वृद्ध र वीरगञ्जकै वडा नम्बर ५ का ६८ वर्षीय बृद्ध रहेका छन् । मृत्यु हुने तीनै जना दिर्घ रोगी रहेको पनि बताईएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।
यस्तै आज विभिन्न जिल्लामा गरी थप २७४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै कुल सङ्क्रमितको जम्मा सङ्ख्या १९ हजार ५४७ पुगेको छ ।