७० दशमलव ६ प्रतिशत सङ्क्रमित निको भए, मृतकको सङ्ख्या ४५ पुग्यो

७० दशमलव ६ प्रतिशत सङ्क्रमित निको भए, मृतकको सङ्ख्या ४५ पुग्यो

१० श्रावण, काठमाण्डौँ । आज थप एक सय ६ जना कोरोना भाइरस सङ्क्रमण मुक्त भई घर फर्किएका भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले आज एक सय ६ जना सङ्क्रमण मुक्त भएपछि सङ्क्रमण मुक्त हुनेको कूल सङ्ख्या १३ हजार ५३ पुगेको जानकारी दिनुभयो ।

मन्त्रालयका अनुसार हालसम्म ७० दशमलव ६ प्रतिशत सङ्क्रमित निको भइसकेका छन् ।

आज थप एक सय नौ जनामा सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमितको कूल सङ्ख्या १८ हजार चार सय ८३ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. गौतमले दिनुभएको जानकारी अनुसार रौतहट, कैलाली र बाजुरामा पाँच सय जनाभन्दा बढी सक्रिय सङ्क्रमितको उपचार भइरहेको छ भने मनाङ, मुस्ताङ, रसुवा, भोजपुर, पाँचथर र सङ्खुवासभा गरी ६ जिल्ला सक्रिय सङ्क्रमित मुक्त भएका छन् ।

यसै गरी आज थप एक जनाको मृत्यु भएपछि नेपालमा कोरोना सङ्क्रमण पछि मृत्यु हुनेको सङ्ख्या ४५ पुगेको छ ।

बारा परवानीपुर गाउँपालिका वडा नं. ८ की १७ वर्षीय युवतीको उपचारका क्रममा हिजो बेलुका मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

शनिबार देशभरीका विभिन्न अस्पतालका आइसोलेसनमा ५ हजार ३ सय ८५ जना कोरोना संक्रमित उपचाररत रहेका छन् । प्रवक्ता डा. गौतमका अनुसार प्रदेश नम्बर १ मा १ सय ४५, प्रदेश नम्बर २ मा १ हजार ९ सय ९ र बागमती प्रदेशमा ४ सय ३४ जना संक्रमित अहिले उपचाररत रहेका छन् । यस्तै गण्डकी प्रदेशमा ३ सय १३, प्रदेश नम्बर ५ मा ३ सय ४६, कर्णाली प्रदेशमा ३ सय ३८ र सुदूरपश्चिम प्रदेशमा १ हजार ९ सय जना संक्रमित उपचाररत रहेका छन् ।

शनिबार १ सय ६ जना डिस्चार्ज भएका छन् । योसँगै आजसम्म कोरोना मुक्त भएर घर फर्किनेको संख्या १३ हजार ५३ पुगेको हो । प्रदेश नम्बर १ मा ७ सय ७५, प्रदेश नम्बर २ मा २ हजार ८ सय ९८, बागमती प्रदेशमा ४ सय ६८ र गण्डकी प्रदेशमा १ हजार १ सय २५ जना संक्रमित निको भएर घर फर्किएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ३ हजार ९ सय, कर्णाली प्रदेशमा १ हजार ५ सय ८५ र सुदूरपश्चिम प्रदेशमा २ हजार ३ सय २ जना डिस्चार्ज भएका छन् ।

आज प्रदेश नम्बर १ मा २ हजार २ सय ९, प्रदेश नम्बर २ मा २ हजार ३ सय २, बागमती प्रदेशमा १ हजार ४ सय ८४ र गण्डकी प्रदेशमा ३ हजार २ सय १६ जना क्वारेन्टिनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा २ हजार ७ सय ७९, कर्णाली प्रदेशमा १ हजार १७ र सुदूरपश्चिम प्रदेशमा ५ हजार २ सय ७६ जना गरी देशभरी १८ हजार १ सय ८३ जना क्वारेन्टिनमा रहेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर