९ श्रावण, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा केही दिनयता निरन्तर छलफलमा छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो विहीबार र आज शुक्रबार पनि ओली र देउवाबीच छलफल भएको छ ।
हिजो ओली र देउवाबीच ‘वान टू वान’ वार्तामा भएको थियो भने आजको छलफलमा नेकपा संसदीय दल उपनेता सुवास नेम्वाङ र काँग्रेस नेता रमेश लेखक सहभागी थिए ।
हिजोको छलफलमा देउवाले लकडाउनपछिको चुनौतीमा विशेष रणनीति बनाउन प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको भनिएको छ । तर आजको छलफल संवैधानिक आयोगको नियुक्त प्रक्रियामा केन्द्रित भएको नेम्वाङले जानकारी दिनुभयो ।
नेताहरु विच आज विहान ११ बजे करिब १ घण्टा छलफल भएको हो । नेम्वाङले उक्त छलफललाई विगतको छलफल कै निरन्तरता भएको बताउनुभयो । संवैधानिक आयोगका सम्बन्धमा गत असार १७ गते प्रधानमन्त्री ओली र देउवाबीच ‘गोप्य’ भेटवार्ता भएको थियो ।
नेम्वाङले भन्नुभयो–‘हिजोको बैठकमा के भयो थाहा छैन । संवैधानिक आयोगका सम्बन्धमा सायद हिजो थोरै कुराकानी भयो होला । आजको छलफल चाहि विगतकै छलफलको निरन्तरता हो । विभिन्न संवैधानिक आयोगका कसरी बनाउने ? के गर्ने ? संवैधानिक परिषदको बैठक अहिलेसम्म बस्न सकेको छैन । कहिले राख्नुहुन्छ भन्ने लगायतका विषय छलफल भयो ।’
यता ओली र देउवाबीच निरन्तर भइरहेको भेटलाई काँग्रेस र नेकपाका विपक्षी खेमाले विमती प्रकट गरेको छ ।
प्रधानमन्त्रीले पार्टीभित्र कुनै छलफल नै नगरी निर्णय र नियुक्त गर्ने गरेको भन्दै नेकपाभित्र विवाद छ भने देउवाले पनि पार्टीभित्र छलफल नगरी प्रधानमन्त्रीसँग भेटवार्ता गरिरहेको विषयमा अर्काे पक्षले विमति प्रकट गरेको छ ।
काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीसँग पार्टी सभापतिको उठ बसबारे विमति प्रकट गर्नुभयो । ‘पार्टीभित्र केही छलफल भएको छैन । शेरबहादुरजीका व्यक्तिगत कुरा के के छन् ? उहाँले भन्नुभयो–‘शेरबहादुजी किन जानुभएको हो थाहा पनि छैन । पार्टीका निर्णय लिएर सरकारसँग जानुपर्ने थियो । तर उहाँ कसरी जानुभयो थाहा छैन ?’