९ श्रावण, काठमाण्डौँ । काठमाडौंको सीतापाइलामा युवतीमाथि एसिड हान्ने भारतीय नागरिक मुन्ना मोहम्मदले साहुको निर्देशनमा एसिड हानेको बयान दिएका छन् ।
साथै, साहु रौतहटको लक्ष्मीपुर घर भइ हाल डल्लु बस्ने मोहम्मद आलमले उनलाई राति नै भारततिर जान भनेको पनि मुन्नाले खुलासा गरेका छन् ।
तर, महानगरीय अपराध अनुसन्धान महाशाखा र काठमाडौं प्रहरी परिसर, टेकुको द्रुत एक्सनका कारण मुन्ना हिजो राति ११ बजे नै पक्राउ परेका छन् । घटनास्थल नजिकै रहेको क्लोज सर्किट (सीसी) क्यामरा फुटेजका आधारमा प्रहरीले मुन्नालाई पक्राउ गरेको हो ।
साहु मोहम्मदले पनि अभियोग स्वीकारेका छन् । आक्रमणमा परेकी २२ वर्षीय युवती पवित्रा कार्कीले आफूसँग प्रेम नगरेको आरोप उनको छ । तर, पीडित युवतीले भने उनी आफ्नो अभिभावक जस्तो भएको बयान दिएकी छन् ।
कीर्तिपुर अस्पतालमा उपचाररत कार्कीले प्रहरीसँग भनेकी छन्, ‘उनले यस्तो गर्लान् भन्ने मलाई एकरति पनि विश्वास थिएन ।’ प्रहरीले पनि प्रारम्भमा उनका प्रेमीलाई समेत शंकाको दायरामा राखेर अनुसन्धान गरे पनि फुटेजको आधारमा मुन्ना पक्राउ परेका हुन् ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवाली भन्छन्, ‘हात डढेको देखेपछि उनले नै एसिड हानेको एकिन भयो ।’ अनुसन्धान अधिकृतहरुका अनुसार एक क्यासिनोमा काम गरेका बेला मोहम्मदसँग युवतीको चिनजान भएको थियो ।
घटना यस्तो थियोः
रौतहटका आलम र ओखलढुंगाकी २२ वर्षीया युवतीबीच बिहीबार साँझ डल्लुमा भेट भयो । पूर्वपरिचित आलमले युवतीलाई मोटरसाइकलमा बाफल चोकमा लगेर छाडिदिए र उनी कोठातिर लागिन् ।
फेरि कोठाबाट निस्केर चोकमा दही चिउरा किनेर फर्किँदै गर्दा मकैबारीमा लुकेर बसेका अपरिचितले उनलाई एसिड फ्याँके । मुख, घाँटी र कपालमा एसिडले पोल्न थाल्यो, उनी चिच्याइन् ।
आलम ती युवतीलाई मन पराउँथे, तर भन्न सक्दैनथे । अर्थात आलम ती युवतीसँग एकतर्फी प्रेममा थिए । यहीबीचमा युवतीले अर्काे केटालाई मन पराएपछि आलमले एसिड हान्ने योजना बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।