९ श्रावण, काठमाण्डौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अपराधलाई संरक्षण गर्ने न्यायाधीशमाथि महाअभियोग लगाउन प्रस्ताव गरेका छन् ।
सर्वाेच्च अदालतले जेल सजायँ कटौती गरिदिएपछि पूर्वडीआईजी रञ्जन कोइराला रिहा भएको भोलिपल्टै डा. भट्टराईले न्यायाधीशमाथि महाअभियोग लगाउन प्रस्ताव गरेका हुन् ।
समाजवादी पार्टीका वरिष्ठ समेत रहेका डा. भट्टराईले देश गम्भीर संकटतिर जान लागेको बताउँदै आफ्ना धारणा बुँदागत रुपमा ट्वीटरमार्फत सार्वजनिक गरेका छन् ।
‘लोकतान्त्रिक ढंगले संकटमोचन गर्ने उपाय’ भन्दै डा. भट्टराईले संसद अधिवेशन बोलाउन, केपी ओलीलाई विदा गरेर नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चयन गर्न र अपराधको संरक्षण गर्ने न्यायाधीशलाई महाअभियोग लगाउन प्रस्ताव गरेका छन् ।
यसैगरी, डा. भट्टराईले भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठन गर्न प्रस्ताव गरेका छन् । उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था समेत प्रस्ताव गरेका छन् ।
नेकपाभित्र प्रचण्ड स्वयं प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षधर हुन् ।