६ श्रावण, काठमाण्डौँ । सरकारले आज मध्यरातदेखि लागू हुने गरी लकडाउनको विधिवत अन्त्य गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलने भन्दै गत चैत्र ११ गतेदेखि जारी गरिएको लकडाउन आज मध्यरातदेखि हटाईने भएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका अर्थमन्त्री डा. युवराज खतिवडाले सो कुराको जानकारी दिनुभएको हो ।
लकडाउन घोषणा गरिएको झण्डै चार महिनापछि जनजीवन सामान्य बनाउने ध्येयका साथ सरकारले त्यसको विधिवत अन्त्य गर्ने निर्णय गरेको बताईएको छ । बन्दाबन्दीबाहेक कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका सम्बन्धमा गरिएका अन्य व्यवस्था भने यथावत नै राखिएको छ ।
यस्तै सरकारले श्रावण १५ देखि होटल–रेस्टुरेन्ट खोल्न दिने निर्णय गरेको छ । तर होटल–रेस्टुरेन्ट खुलेपनि सामूहिक भोज, पार्टी र सेमिनार जस्ता गतिविधि भने सञ्चालन भने गर्न पाइनेछैन ।
यस्तै ट्रेकिङ र ट्राभल व्यवसाय पनि खोल्न सकिने सरकारको निर्णय छ ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको आजको पत्रकार सम्मेलनमा मन्त्री युवराज खतिवडाले जानकारी दिनुभएको हो ।
यस्तै भाद्र १ देखि छोटो, मध्यम र लामो दूरीका यात्रुबाहक सवारीसाधनहरु सञ्चालन गर्न दिने निर्णय भएको छ । यस्तै भाद्र १ देखि नै आन्तरिक र बाह्य व्यवसायिक हवाइ उडान खुला गर्ने निर्णय पनि सरकारले गरेको छ ।
यस्तै भाद्र १ देखि विद्यार्थी भर्ना थाल्ने, परीक्षाका कार्यक्रम र शैक्षिक गतिविधि सुरु गर्ने निर्णय पनि सरकारले गरेको छ ।