१ श्रवाण, काठमाण्डौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरसको संक्रमण दर कम हुँदै गएको बताएको छ । मन्त्रालयले संक्रमण दर कम भएकाले नै परीक्षण पनि कम भएको स्पष्ट पारेको छ ।
देश भरमा आज १६७ जना मात्र कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या १७ हजार ३ सय ४४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितबारे जानकारी दिनुभएको हो । हालसम्म ११ हजार २ सय ४९ जना कोरोना संक्रमितहरु उपचारपश्चात निको भएर घर फर्केका छन् । देशमा ६ हजार ५६ जना उपचाररत छन् । हालसम्म कोरोना संक्रमणबाट ३९ जनाको मृत्यु भएको छ ।
पुर्वका धनकुटा, भोजपुर, सोलुखुम्बु, हुम्ला, मनाङ र मुस्ताङ जिल्ला कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आजको नियमिति प्रेस ब्रिफिङमा प्रवक्ता गौतमले नेपालमा दैनिक १० हजार बढी नमुना परीक्षण गर्न सक्ने क्षमता रहेको बताउनुभयो । हाल देशका विभिन्न २७ प्रयोगशालाबाट पीसीआर जाँच हुँदै आएको छ ।
गौतमले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ३ हजार जनाको नमुना संकलन गरेर पीसीआर विधिबाट परीक्षण गर्दा ३ जनामा मात्रै कोरोना पोजेटिभ देखिएको बताउनुभयो । यसले संक्रमण दर कम हुँदै गएको पुष्टि हुने उहाँले बताउनुभयो ।
उहाँका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९८१ जनाको नमुना परीक्षण भएको छ ।