३० असार, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मभूमि भारतमा नभई नेपालमै रहेको दावी गरेपछि विभिन्न टिकाटिप्पणी सुरु भएका छन् । सामाजिक सञ्जालमा विभिन्न टिप्पणी आएका छन् ।
तर राम जन्मभूमि अयोध्याबारे भारतमै व्यापक विवाद छ । लामो समय अयोध्याको विवादित क्षेत्रमाथि अदालतले सुनुवाई गरेको छ । मुस्लिमहरुको प्रख्यात बाबरी मस्जिद र हिन्दूहरुको राम मन्दिरबारे लामो समय विवाद चल्यो ।
अदालतले तथ्य र प्रमाणको आधारमा भन्दा पनि बहुसंख्यकवादका आधारमा विवादास्पद भूमिको स्वामित्व विवाद सुल्झाएको भारतकै विज्ञहरुले बताउँदै आएका छन् ।
गत वर्ष नोभेम्बरमा बीबीसी हिन्दीले प्रकाशित गरेको एक रिपोर्टअनुसार अयोध्या विवादमा सर्वाेच्च अदालतले आफ्नो फैसलामा एक खास रिपोर्टलाई उल्लेख गरेको छ, जसमा बाबरी मस्जिदको तल कुनै हिन्दू मन्दिर थिएन भनिएको छ ।
प्रोफेसर सुरज भान, अतहर अली, आरएस शर्मार डिएन झाले ऐतिहासिक पुरातात्विक प्रमाणको अध्ययन, अनुसन्धान गरेर आफ्नो रिपोर्ट तयार पारेका थिए, जसमा बाबरी मस्जिदको तल हिन्दू मन्दिर छ भन्ने दावीलाई खारेज गरिएको थियो ।
भारतको सर्वाेच्च अदालतले उक्त भूमिको विवादबारे फैसला सुनाएपछि भारतका चर्चित इतिहासकार प्रोफेसर डिएन झाले प्रतिक्रिया दिँदै ‘हिन्दूहरुको आस्थालाई महत्व दिइएको’ बताएका थिए । ‘दोषपूर्ण पुरातत्व विज्ञानलाई फैसलाको आधार बनाइएको छ,’ अदालतको फैसलाप्रति असहमति राख्दै उनले भनेका थिए ।
भारतीय पुरातत्व सर्वेक्षणले समेत सन्देहास्पद भूमिका निर्वाह गरेको प्रोफेसर झाको भनाइ थियो । ‘विध्वंस अघि हामीलाई प्राचीन वस्तुको जाँचका लागि त्यहाँ लगिएको बेला एउटा ट्रेन्चको साइट नोटबुक नै दिइएन, त्यसमा निकै महत्वपूर्ण प्रमाण थिए,’ भारतीय पुरातत्व सर्वेक्षणको भूमिकामा प्रश्न गर्दै उनले भने, ‘प्रष्ट रुपमा भन्नुपर्दा यो प्रमाणहरु दबाउने प्रयास थियो ।’
बाबरी मस्जिद विध्वंशपछि पुरातत्व सर्वेक्षणको टोलीले उत्खनन् गर्दा पनि पूर्वाग्रही मानसिकताका साथ काम गरेको उनको आरोप छ । ‘उनीहरुले ती प्रमाणलाई दबाए, जसले मन्दिरको थ्यौरीलाई काट्दथे, तर कुनै ठाउँमा उत्खनन् गर्दा वैज्ञानिक मूल्य, मान्यतालाई हेरियोस् भन्ने हुन्छ, अयोध्याको मामिलामा त्यो भएन ।’
प्रधानमन्त्रीको टिप्पणीमा भाजपाको यस्तो बयानः
भारतको सत्तारुढ भारतीय जनता पार्टीका प्रवक्ता डा. विजय शंकर शास्त्रीले नेपालमा कम्युनिस्टहरु जनताबाट अस्वीकृत हुने टिप्प्णी गरेका छन् । उनले कुनैबेला भारतमा कम्युनिस्टहरु प्रभावशाली रहेको र जनताको विश्वासमाथि खेलवाड गर्दा अस्वीकृत भएको स्मरण गराउँदै नेपालमा कम्युनिस्टहरुको हालत भारतका कम्युनिस्टहरुको जस्तै हुने टिप्पणी गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या भारतमा नभई नेपालमा भनी दिएको अभिव्यक्तिबारे प्रतिक्रिया दिदै शास्त्रीले समाचार एजेन्सी पीटीआईसँग आज यस्तो धारणा सार्वजनिक गरेका हुन् । उनको भनाई उदृत गर्दै पीटीआईले भनेको छ, ‘भारतमा पनि वामपन्थीले जनताको विश्वासमाथि खेलवाड गरे र नेपालका कम्युनिस्टहरु भारतमा कम्युनिस्टहरु अस्वीकृत भएजसरी जनताबाट अस्वीकृत हुनेछन् ।’
शास्त्रीले भगवान राम विश्वासको विषय हुन् भन्दै जनताले कसैलाई पनि यस्तो विश्वासमाथि खेलवाड गर्न छुट नदिने बताए । उनको भनाई उदृत गर्दै पीटीआइले लेखेको छ, ‘भगवान राम विश्वासको विषय हुन् र चाहे नेपालका प्रधानमन्त्री हुन् या अरु कोही जनताले यस्तो विषयमा खेलवाड गर्न छुट दिनेछैनन् ।’