भारतले बनाएको एकतर्फी बाधका कारण तराई क्षेत्र डुबानमा पर्छः गृहमन्त्री थापा

भारतले बनाएको एकतर्फी बाधका कारण तराई क्षेत्र डुबानमा पर्छः गृहमन्त्री थापा

२९ असार, काठमाण्डौँ । गृहमन्त्री रामबहादुर थापा बादलले भारतले बनाएको बाँधका कारण नेपालको तराई क्षेत्र डुबानमा परेको बताउनुभएको छ ।

आज प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री थापाले भारतले नेपाललाई असर पुग्नेगरी बाँध बनाउनु एक किसिमको हस्तक्षेप भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘भारतले एकतर्फी रुपमा बाँध बनाएको छ । बाँध बनाएपछि त्यसको निकास पनि दिनुपर्छ, उनीहरुले आफ्नो हितमा रहेर बाँध बनाएका छन् ।’

मन्त्री थापाले सरकारले निरन्तर पहल गरेपनि समस्या समाधानमा सार्थकता नदेखिएको बताउनुभयो । भारतीय प्रधानमन्त्री नेपाल आएका बेला कार्यदल बनाए पनि उनीहरूले त्यसको कार्यान्वयन नगरेको उहाँको भनाइ छ ।

उहाँले नेपालको डुबान रोक्न भारतले निकास दिन आवश्यक रहेको बताउनुभयो ।

यस्तै गृहमन्त्री रामबहादुर थापा बादलले बाढीपहिरो र डुबान रोक्नका लागि सरकारले उपयुक्त नीति योजना बनाउन आवश्यक रहेको बताउनुभयो ।

यस्तै गृहमन्त्री थापाले प्राकृतिक प्रकोपका घटनापछिको राहत र उद्धारका लागि कानून, संरचना, नीति र योजना निर्माणलाई वस्तुवादी र वैज्ञानिक बनाइदै लगिएको पनि बताउनुभयो । विपद्को दोष प्रकृतिलाई दिन नमिल्ने भन्दै उहाँले विपद्को सृजना स्वयम मानिसले गरेको बताउनुभयो ।

अव्यवस्थित बसोबास क्षतिको मुख्य कारक रहेको गृहमन्त्री थापाको भनाई रहेको छ । उहाँले प्राकृतिक प्रकोपका घटनाको गहन समीक्षा गरेर वस्तुवादी नीति बनाइने दृढता व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर