आज आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती, विविध कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती, विविध कार्यक्रम गरी मनाइँदै


२९ असार, काठमाण्डौँ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलनसक्ने भएकाले भौतिक दूरी आयोजना गरेर मात्र कार्यक्रम गरिने जनाइएको छ । सार्वजनिक कार्यक्रममा उपस्थित हुन नसक्नेले भने घरघरमा नेपाली भाषामा भावानुवाद गर्नुभएको रामायण पाठ गरी भानुजयन्ती मनाईदैँछ ।

सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाउनुभएको छ । उहाँले लेख्नुभएको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ ।

पृथ्वीनारायण शाहले भौगोलिकरूपमा एकीकरण गर्नुभएको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गर्नुभएको हो । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिनुभएका भानुभक्तलाई एक सामान्य घाँसीले “जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ” भनी अर्ती उपदेश दिनुभएकाले उहाँ रामायणलाई नेपालीमा रचना गर्न प्रेरित हुनुभएको थियो ।

‘वधुशिक्षा’ उहाँको अर्काे प्रसिद्ध कृति हो । यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन् । कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यलयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेख्नुभएको थियो– ‘भोलि भोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली’ ।

भानुभक्तका विषयका अध्येता एवं त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली भानुभक्तको भोलिवादको विरोधमा रचना भएको कवितालाई आजका शासक तथा प्रशासकले बुझेर व्यवहारमा उतार्न सकेमात्र सुशासन र समृद्धि सम्भव हुने बताउनुहुन्छ ।

नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ । भानुभक्त ऐतिहासिक व्यक्ति भएकाले सम्पूर्ण नेपालीले उनको सम्मान गर्नुपर्ने र उनका विचारका बारेमा उठेका विवादमाथि छलफल एवं समीक्षात्मक कार्यक्रम गर्नु आजको प्रमुख आवश्यकता भएको समालोचकहरूको धारणा छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर