२६ असार, सुनसरी । सप्तकोशी नदीमा पानीको वहाव यो वर्षकै उच्च भएपछि कोशी ब्यारेज कन्ट्रोल रुमले तटीय क्षेत्रका नागरिकलाई सर्तक रहन आग्रह गरेको छ ।
कन्ट्रोल रुमले तमोर नदी मुलघाट, धनकुटामा जलसतहले सतर्कता पार गरेको र बढ्दो अवस्थामा रहेको जनाएको छ । कोशी नदी चतरामा सतर्कता नजिक रहेको र सतर्कता पार गर्ने सक्ने, सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा बढी सतर्कता अपनाउनु पर्ने जानकारी दिइएको गराएको हो ।
हिजो देखी सुरु भएको लगातारको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको हो । आज बिहानदेखि जलसहत उच्च भएपछि खतराउन्मुख रहेको जनाइएको छ । पानीको वहाव उच्च भएपछि आज दिउँसो देखि ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको छ ।
सप्तकोसी ब्यारेजमा गरिएको पछिल्लो मापनअनुसार २ लाख ५६ हजार ६१५ क्युसेक पानी प्रति सेकेन्डका दरले वहाव भइरहेको उल्लेख गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले सप्तरीतर्फका तटीय क्षेत्रका नागरिकलाई सतर्कता भएर बस्न आग्रह गरेको छ । नदीमा पानीको बहाव बढेसँगै कोसी ब्यारेजभन्दा दक्षिण १९ किलोमिटरसम्म नेपालतर्फ रहेको पश्चिमी तटबन्धमाथि पानीको दबाब बढेको हो ।
पाँच वर्षअघि भारतीय कोसी योजनाले कोसीको मध्य भागमा पाइलट च्यानल खनेर पानीको बहावलाई पश्चिमतर्फ फर्काइएपछि सुरक्षित रहँदै आएको सप्तकोसीको पश्चिमी तटबन्धमाथि दबाब बढदै गएको हो ।