२६ असार, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आगामी एक साताको लागि स्थगित भएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाएअनुसार देशभर देशभर भैरहेको अतिबृष्टि र सिन्धुपलाञ्चोक लगायत केही जिल्लाहरुमा जनधनको ठुलो क्षति समेत भईसकेको स्थितिमा सम्पुर्ण पार्टीपंत्तिलाई उद्दार एवं राहतमा लाग्न र आसन्न संभावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्नको लागि पनि बैठक स्थगित गरिएको हो ।
उहाँले आज विहान ट्विटरमार्फत यस्तो जानकारी दिनुभएको हो । स्थायी कमिटीको बैठक आज विहान ११ बजे बस्ने तय भएको थियो । नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको बेला पछिल्ला दिनमा स्थायी कमिटी बैठकसमेत प्रभावित बन्दै आएको छ । उहाँले लेख्नुभएको छ,’देशभर भैरहेको अतिबृष्टि र सिन्धुपलाञ्चोक लगायत केही जिल्लाहरुमा जनधनको ठुलो क्षति समेत भईसकेको स्थितिमा सम्पुर्ण पार्टीपंत्तिलाई उद्दार एवं राहातमा लाग्न र आसन्न संभावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टी केका को तर्फबाट निर्देशन दिदै स्थायी कमिटीको बैठक ७ दिन स्थगित ।”
आन्तरीक विवाद साम्य हुँदैः
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको आन्तरिक किचलो उत्कर्षमा पुगेका बेला सो पार्टीको जारी स्थायी कमिटी बैठक सात दिनका लागि पर धकेलिएको छ । बाढी पहिरोले जनजीवन प्रभावित भएको बहानामा बैठक स्थगित गर्न नेकपालाई थप सहज बनाइदिएको छ ।
पार्टीभित्रको विवाद के होला, कसो होला भनेर चासोपूर्वक हेरिरहेका नेता कार्यकर्तालाई पनि नेकपाले यो चासो छोडेर राहत तथा उद्धारमा इन्गेज हुन निर्देशन दिएको छ । यसले एकातिर नेता कार्यकर्तामा बढेको आवेग कम हुनेछ भने अर्काेतिर नेताहरुले यही मौकामा सहमतिका नाममा लेनदेनको होमर्वक गर्न पाउने समय मिलाइदिएको छ ।
असार १० गतेबाट सुरु भएको नेकपा बैठक नेतृत्व तहमा विवाद देखिएकै कारण छलफलका लागि तय गरिएका एकाध एजेन्डाबाहेक अरूमा प्रवेश नै नगरी झण्डै एक महिना कट्न लागेको छ । सम्भवतः साउन ७ सम्म पनि शीर्ष तहमा कुरा नमिले बैठक बस्ने सम्भावना कम रहेको छ । यो बीचमा सीमा समस्यासम्बन्धी एजेन्डामा छलफल गरेर नक्सा जारी गरेकोमा सरकारलाई धन्यवाद दिनुबाहेक बैठकले केही निर्णय गर्न सकेको छैन ।
ओली अनुकुल परिस्थिति
नेकपाका नेताहरुबीच पार्टी एकता घोषणालगत्तै विवाद सुरु भएको हो । तर ती विवाद केही समय चर्कर्ने अनि केही न केही सहमति गरेर साम्य पार्ने प्रयास हुँदै आएको थियो । गत मङ्सिरपछिका ८ महिना भने नेकपा लगातार विवाद नै विवादमा फस्न पुगेको छ । तर परिस्थिति यस्तो बनेको छ कि जब पार्टीभित्रको अवस्था जटिल बन्छ तब परिस्थिति भने प्रधानमन्त्री तथा अध्यक्ष केपी ओेली अनुकुल बन्ने गरेको देखिन्छ ।