नेकपा विवादको निकास खोज्दै दोस्रो तहका नेताहरु

नेकपा विवादको निकास खोज्दै दोस्रो तहका नेताहरु

२३ असार, काठमाण्डौँ । शीर्ष नेताबीच विवाद कायम रहेका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दोस्रो तहका नेताले सहमतिको खोजीका लागि सक्रियता देखाएका छन् ।

सहमतिकै प्रयासका लागि तोकिएको स्थायी कमिटी बैठक असार २४ गते सम्मका लागि स्थगन भएको छ भने विवाद मिलाउन अनौचारिक गृहकार्य जारी छ । आन्तरिक विवाद मिलाउन आइतबार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल हुँदा दोस्रो तहका चार नेतालाई सहमतिको खाका बनाउन औपचारिकरुपमा जिम्मेवारी दिइएको थियो । कार्यदलले परामर्श र खाका निर्माणको काम गरिरहेको छ ।

कार्यदलमा महासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्य शङ्कर पोखरेल, जनार्दन शर्मा र वर्षमान पुन रहेका छन् । सहमतिका लागि प्रस्तावित भनी बाहिर आएको पाँच बुँदे खाकाका बारेमा अध्यक्ष दाहालको सचिवालयले खण्डन गरी पार्टी एकता नभड्काउन आग्रह गरेको छ ।

सहमतिका लागि पार्टी एकता हुनुअघि २०७५ मा भएको समानता, आवश्यकता र सहमतिका आधारमा पालैपालो नेतृत्व गर्ने भन्ने सहमति र २०७६ मङ्सिर ४ को स्थायी कमिटीको बैठकले प्रधानमन्त्री ओलीलाई सरकार र अध्यक्ष दाहाललाई पार्टी अध्यक्षको कार्यकारी काममा सक्रिय रहने कार्यविभाजको निर्णयको समीक्षासहित नयाँ बिन्दू खोजी भइरहेको छ ।

मन्त्रीसमेत रहनुभएका स्थायी कमिटीका सदस्यद्वय घनश्याम भुसाल र योगेश भट्टराईले स्थायी कमिटीको बैठकमा विवाद बढेपछि सहमतिका लागि शीर्ष नेताहरुलाई सार्वजनिक आग्रहका साथै आफ्ना तर्फबाट विभिन्न पहल गरिरहेका छन् । स्थायी कमिटीका अर्का सदस्य टोपबहादुर रायमाझीले समृद्धि र स्थिरताका लागि मिलेर काम गर्नुपर्ने समयमा अहिले सरकार परिवर्तनको खेलमा नलाग्न आग्रह गर्दै आएका छन् । यसरी हेर्दा नेकपाभित्रको विवादमा पूर्व समूहरुको धार वा कुनै वैचारिक मतभेद भन्दा पनि शक्ति सङ्घर्ष र आपसी समन्वयको बेमेल मात्रै देखिन्छ ।

आज पनि ओली–प्रचण्ड विच ‘वान टु वान’ वार्ता हुँदैः
पार्टी भित्रको संकट समाधानका लागि प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज मंगलबार पनि ‘वान टु वान’ वार्ता हुँदैछ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली र प्रचण्डबीच ‘वान टु वान’ वार्ता हुने भएपनि समय तय भइनसकेको प्रधानमन्त्री ओलीको सचिवालयका एक सदस्यले जानकारी दिए ।

‘वार्ता हुन्छ तर अहिले नै समय तय भइसकेको छैन । दुवै अध्यक्षको सेड्युल हेरेर समय तय हुन्छ’, बालुवाटार स्रोतले भन्यो, ‘सम्भवत ११ बजेपछि हुनसक्छ ।’

प्रचण्डको सचिवलयले पनि ११ बजेपछि दुई नेताबीच वार्ता हुनसक्ने जनाएको छ ।

नेताहरुबीच सोमबार झण्डै डेढ घण्टा ‘वान टु वान’ वार्ता भएको थियो । सोमबार वार्ता सुरु भएपनि पुन छलफल गर्नेगरी दुवै नेता उठेका थिए ।

यसअघि आइतबार भएको वार्तामा दोस्रो तहका नेताहरु समेत सहभागी भएपनि सोमबारबाट दुई अध्यक्षबीचमात्रै वार्ता गर्ने दुवै नेतावीच सहमत भएका थिए ।

त्यस्तै आवश्यक परे पार्टी वरिष्ठ नेतालाई समेत वार्तामा बोलाउन सकिने उनीहरुबीच कुराकानी भएको थियो । यसैवीच वार्तामा आफ्नो पक्षको सहभागीता नखोजिएको भन्दै बरिष्ठ नेता माधवकुमार नेपाल असन्तुष्ट बनेका छन् ।

नेताहरुबीच सहमति खोजन भन्दै जारी स्थायी समिति बैठक बुधबारसम्म स्थगित गरिएको छ । स्थायी समिति बैठकमा बहुमत सदस्यले ओलीको राजीनामा मागेपनि ओली राजीनामा नदिने पक्षमा छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर