२२ असार, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल सुरु भएको छ । पार्टीभित्रको अन्तरविरोध हल गर्नेगरि दुई अध्यक्ष छलफलमा बसेको बालुवाटार स्रोतले जनाएको छ ।
असार १० गतेदेखि सुरु भएको स्थायी कमिटीको पाँचौं बैठकको पहिलो दिनमै नेताहरुले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए । तर, ओलीले आफूले कुनैपनि हालतमा राजीनामा नदिने अडान लिनुभएको छ ।
अध्यक्ष दाहालसहित बरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमै ओलीको राजीनामा माग्नुभएको थियो ।
उहाँहरुले ओलीबाट अब पार्टी र सरकार दुवै चल्न नसक्ने दाबी गर्देआउनुभएको छ । स्थायी कमिटी बैठकबाट बहुमतले निर्णय गरेर ओलीलाई दुवै पदबाट हटाउने तयारी भैरहेको बेलामा ओलीले संसदको बजेट अधिवेशन अन्त्य गरेर पार्टीभित्रका आफू विरोधी समूहलाई चिढ्याएका थिए ।
अध्यक्षद्धयबीच पछिल्लो समय लगातार छलफल भैरहेका छन् । कहिले एक्लाएक्लै त कहिले सहयोगीका साथमा ।
हिजो आइतबार दुवै पक्षबाट दुईरदुई जना नेताहरु राखेर ओली दाहाल छलफलमा बस्नुभएको थियो । हिजोको छलफलमा ठोस सहमति नभएपनि सहमति खोज्नेबारे सहमति भएको थियो ।
छलफलमा ओली समूहबाट महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य शंकर पोखरेल सहभागी हुनुभएको थियो भने दाहाल समूहबाट स्थायी कमिटी सदस्यहरु जनार्दन शर्मा र वर्षमान पुन सहभागी रहनुभएको थियो ।
सत्तारुढ दल नेकपामा आन्तररिक संघर्ष चुलिदै गएपछि पार्टी नै विभाजनको संघारमा पुगेपछि ओली र प्रचण्ड सहयोगिसहित वार्तामा जुुटेका हुन् । गत शुक्रबार स्थायी समिति बैठक बसिरहेका बेला प्रधानमन्त्रीले पार्टीमा छलफल नै नगरी संसदको अधिवेसन अन्त्य गर्ने निर्णय गरेपछि नेताहरु प्रधानमन्त्रीको कार्यशैलीप्रति थप आक्रोशित बनेका थिए ।