नेकपा बैठकः छलफल भयो तर निर्णय हुन सकेन

नेकपा बैठकः छलफल भयो तर निर्णय हुन सकेन

२१ असार, काठमाण्डौँ । सत्तारुढ दल नेकपाको विवाद मिलाउन बालुवाटारमा नेताहरुबीच आज भएको वार्ता पुनः भोलि सोमबार बस्ने गरी सकिएको छ । वार्तामा सहभागी एक नेताका अनुसार सवै विषयमा छलफल भएपनि कुनै निर्णय नभएको हो ।

‘उठेका सबै विषयमा छलफल भयो । तर कुनै ठोस निर्णय भएन । भोलि बसेर थप छलफल गर्ने सहमति बनेको छ,’ ती सदस्यको भनाइ छ । सोमबार स्थायी समिति बैठक पनि बस्दैछ । ११ बजे बस्ने स्थायी समिति अघि ६ नेताहरुबीच पुनः बैठक बस्नेछ ।

स्थायी समितिमा प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्ने तयारी छ । तर ओली कुनै हालतमा राजीनामा नदिने अडानमा छन् । जसले गर्दा पार्टी विभाजन हुनसक्ने भन्दै नेताहरुबीच आन्तरिक छलफल र दौडधुप चलिरहेको छ ।

आजको वार्तामा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालका साथै महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरु शंकर पोखरेल वर्षमान पुन तथा जनार्दन शर्मा सहभागी रहनुभएको थियो ।

साक्षीका रुपमा ओलीका तर्फबाट महासचिव पौडेल र पोखरेल तथा प्रचण्डपक्षबाट शर्मा र पुन सहभागी हुनुभएको थियो । यसअघि शुक्रबार ओली र प्रचण्डबीच भएको संवादमा पौडेल र शर्मा सहभागी भएपनि आजको वार्तामा पोखरेल र पुन थप सहभागि हुनुभएको थियो ।

बैठकपछि स्थायी समिति सदस्य जनार्दन शर्माले सबै कोणबाट छलफल भएको तर टुंगोमा पुग्न नसकिएको जानकारी दिनुभयो । उहाँका अनुसार नेताहरुबीच सहमतिका लागि अझै बाँकी उपायहरु अपनाउने र भोलिको वार्ताले यसको छिनोफानो हुनेछ ।

प्रधानमन्त्रीको प्रेस सल्लाकार सूर्य थापाले पनि बैठक सौहार्द बनेको र विषयमा प्रविष्ट भएको जानकारी दिनुभयो । दुवै पक्षका नेताहरू बसेर सहमतिका विकल्पहरू तयार पारेपछि भोलि दुई अध्यक्ष बस्ने र थप छलफल गर्ने समझदारी जुटेको छ । त्यसपछि स्थायी कमिटीको बैठक बस्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर