अहिले कायम ‘लकडाउन’लाई श्रावण ७ सम्म लम्ब्याउने सरकारको निर्णय

अहिले कायम ‘लकडाउन’लाई श्रावण ७ सम्म लम्ब्याउने सरकारको निर्णय

१६ असार, काठमाण्डौँ । सरकारले लकडाउनको अहिलेको मोडललाई साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले अहिलेकै मोडलको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको स्रोतले जानकारी दिएको छ ।

‘प्रदेश, जिल्ला र स्थानीय तहले ठाउँअनुसार कडाई र खुकुलो बनाउन सक्छन्, तर निर्णय गर्दा केन्द्रसँग समन्वय गर्नुपर्छ’ एक मन्त्रीले भनेका छन् ।

यो निर्णयअनुसार श्रावण ७ सम्म सार्वजनिक सवारी साधन चल्ने छैनन् । निजी सवारीसाधन जोर विजोर प्रणालीमा चल्नेछन् ।

उद्दार बाहेकका सबै हवाई उडान बन्द हुनेछन् । विद्यालय तथा शैक्षिक संस्थाहरू पनि बन्द नै रहनेछन् ।

सभा समारोह, प्रदर्शन गर्न पाइने छैन भने सिनेमा हल, डान्सबार, पुस्तकालय, संग्रहालय, समूहमा खेलिने खेल, स्वीमिङ पुलहरू पनि खुला हुने छैनन् । सरकारले तोकेका २० बाहेक अरू अन्तर्राष्ट्रिय सीमा नाका पनि बन्द नै रहनेछ ।

गत जेष्ठ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको थियो ।

सोहीअनुसार हाल स्वास्थ्यसँग सम्वन्धित सबै सेवा खुला छन् भने सबै प्रकारका कृषि र पशुपक्षी सेवा, उत्पादन र बिक्री खुला गरिएको छ । यस्तै उद्योग, व्यापार, व्यवसाय, पसलहरु, डिपार्टमेन्टल स्टोरहरु खुला गरिएको छ ।

यस्तै सबै प्रकारका ढुवानी सेवा पनि खुला गरिएको छ ।

यसैगरी व्यक्तिहरुको पैदल आवागमन खुल्ला गर्दै जोर बिजोरको आधारमा मोटरसाइकल निजी सवारी साधन सञ्चालन गर्न दिइएको छ । यसैगरी सरकारले बैंक, बित्तीय संस्था र सहकारी पनि खुल्ला छन् ।

यस्तै यात्रुबहाक सार्वजनिक सवारी साधन सञ्चालनमा पनि रोक लगाइएको छ । बैठकमा कोरोना संक्रमण दर बढ्दै गइरहेको सन्दर्भमा यसबारे गम्भीर समीक्षा भएको बताइएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर