१२ असार, काठमाण्डौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा नेपाल भारत सीमामा तारबार लगाउनुपर्ने मत बलियोसँग प्रकट भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठकमा स्थायी कमिटी सदस्यहरूले सीमा नियमन मात्र होइन, सिल गर्नुपर्ने धारणा समेत राखेका छन् । बैठकको सुरुमा नै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल भारत सीमा विवादको ऐतिहासिक तथ्यसहित आफ्नो धारणा राख्नुभएको छ ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आजको बैठकमा १८ जनाले बोलेका थिए ।
अन्य स्थायी समिति सदस्यहरूले लिम्पियाधुरासहितको नक्सा जारी हुनु ऐतिहासिक काम भएको भन्दै सुस्ता क्षेत्रको सीमा विवाद पनि हल गर्नुपर्ने सुझाव दिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार वक्ताहरूले दुई देशका प्रवुद्ध व्यक्तिहरूले तयार पारेको इपिजी प्रतिवेदन सम्बन्धलाई नयाँ उचाइमा र्पुयाउने खालको भए पनि भारत बुझ्न नमानेकाले समस्या भएको बताएका थिए ।
‘अब अर्काे बैठक भोलि बिहान ११ बजे बस्नेछ,’ प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले भने सीमा सिलको सट्टा नियमन र नियन्त्रण गर्नुपर्ने प्रतिकृया दिनुभएको छ । ‘सीमा खुला राख्नुपर्छ भन्ने होइन तर आउजाउका लागि निश्चित बिन्दु तोकेर नियमन र नियन्त्रण गर्नुपर्छ । अन्यत्र तारबार गर्न सकिन्छ’ उहाँले भन्नुभयो ।
साथै, इतिहासको समीक्षाका नाममा राष्ट्रिय एकता कमजोर पार्न नहुने उहाँले बताउनुभएको छ । भारतले अतिक्रमण गरेको भूमि फिर्ता ल्याउन सबै एक भएको भन्दै उहाँले भन्नुभयो, ‘इतिहासमा कमी कमजोरी भएन भन्ने होइन । तर सुगौली सन्धिपछि कुनै शासकले सम्झौता गरेर नेपाली भूमि भारतलाई दिएको छैन ।’
बैठकमा पार्टीका अध्यक्ष समेत रहनुभएका प्रधामन्त्री केपी शर्मा ओली सहभागि हुनुभएन ।