प्रधानमन्त्री ओली बिना नै नेकपाको स्थायी कमिटी बैठक जारी

प्रधानमन्त्री ओली बिना नै नेकपाको स्थायी कमिटी बैठक जारी


१२ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक बालुवाटारमा जारी छ । तर, अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने बैठकमा उपस्थित भएका हुनुहुन्न ।

बैठकमा आफू उपस्थित हुन केही समय लाग्ने जानकारी गराउँदै ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बैठक सञ्चालन गर्न आग्रह गरेको र सोहीअनुसार दाहालको अध्यक्षतामा बैठक जारी रहेको एक नेताले जानकारी दिए । ती नेताकाअनुसार ओलीले आफू अर्कै काममा व्यस्त भएकोले बैठकमा आउन ढिला हुने जानकारी गराउनुभएको थियो ।

यही असार १० गतेदेखि शुरु भएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको आजको बैठक शुरु भएको छ । पहिलो दिनको बैठकमा अध्यक्षद्वयको मन्तव्य र कार्यसूची तय गरी आज बस्ने गरी सकिएको थियो । जारी बैठकमा पहिलो दिन वर्तमान परिस्थिति र बैठकका सम्बन्धमा अध्यक्षद्वय ओली र दाहालले मन्तव्य राख्नुभएको थियो ।

पहिलो दिनको बैठकमा प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसँग ओलीको चर्काचर्की पनि परेको थियो । ओलीले त्यसबेला सरकारले चौतर्फी राम्रो काम गरिरहेको बताउनुभएको थियो भने प्रचण्ड र नेपालले कडा आलोचना गर्नुभएको थियो ।

प्रचण्डले ओलीले अहिले कपटी राजनीति गरेकाले आफूले विगतका सम्झौताबाट पछि हट्नु गल्ती भएको बताउनुभएको स्रोतले बताएको छ । वरिष्ठ नेता नेपालले ओलीका कुरा पटक पटक सुन्दा सुन्दा कान थाकिसकेको भन्दै कटाक्ष गर्नुभएको थियो ।

बैठकमा कोभिड–१९ को नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र साङ्गठानिक एकताका बाँकी कामहरू सम्पन्न गर्ने, अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) र विविध कार्यसूचीमा छलफल हुने छ । कार्यसूचीको विविधमा रुकुमपश्चिमा गत जेठ १० मा भएको मानवताविरोधी घटना, नागरिकतासम्बन्धी विधेयक, सङ्घीय सांसदहरुको भत्ताका विषय राखिएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर