१० असार, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले विरोध गर्दैमा राजीनामा नदिने बताउनुभएको छ । उहाँले आरोपहरुको सामना गरेर बढ्ने भन्दै कसैले विरोध गर्दैमा राजीनामा दिईहाल्नुनपर्ने बताउनुभएको हो ।
आज बसेको स्थायी कमिटि बैठकमा सहभागी एक नेताका अनुसार सरकारलाई कमजोर बनाउने प्रयास भइरहेको बताउँदै ओलीले प्रतिवादको शैलिमा प्रस्तुत हुनुभएको थियो । उहाँले पार्टीभित्रैबाट सरकारलाई असहयोग भइरहेको समेत बताउनुभयो । उहाँले गरेको प्रश्न उदृत गर्दै बैठकमा सहभागी नेताले भने, ‘मान्छेहरु बेसारका नाममा सडकमा निस्किएका छन्, अब के बेसारकै नाममा राजनिामा दिने ?’ अर्का अध्यक्ष प्रचण्डले हिजो बालुवाटारमा राजीनामा मागेको र आज पनि कडा आलोचना गरेपछि ओलीले त्यस्तो जवाफ दिनुभएको हो ।
आजबाट सुरु भएको स्थायी कमिटीकोे बैठकमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेर शुक्रबार बस्नेगरी बैठक स्थगित भएको छ । बैठकमा विगतमा जस्तो राजनीतिक प्रतिवेदन पेश भएन ।
बैठकमा ओली र प्रचण्ड दुवैले घुमाउरो शैलीमा एकले अर्काेलाई सहयोग नगरेको र पार्टी एकता नै संकटमा पर्न लागेको भन्दै चिन्ता व्यक्त गर्नुभएको थियो । दुवै नेताले कमजोरी केलाउँदै र सच्याउँदै अघि बढ्नुको विकल्प नभएको पनि स्मरण गराउनुभएको थियो ।
प्रचण्डले आफ्ना केही गुनासाहरु सुनाउनुभएको थियो । उहाँले पार्टी र सरकार सञ्चालनबारे पहिले गरिएको सहमति कार्यान्वयन नभएको, सरकार एकलौटी ढंगले चलाउन खोजिएको, महत्वपूर्ण निर्णयहरु गर्ने बेलामा समेत पार्टीलाई कुनै जानकारी दिने नगरिएको जसले गर्दा पार्टी एकतामाथि नै प्रश्न उठ्न थालेको भन्दै सरकारमा बस्नेहरुले यी विषयहरुमा सोच्नुपर्ने बेला आएको धारणा राख्नुभएको थियो ।
‘कम्युनिष्ट नेतृत्वको सरकारको आदर्श र चरित्र पनि कम्युनिस्टकै हुनुपर्ने हो । तर त्यस्तो छैन । सामूहिक निर्णयको सिद्धान्त लागु भएको छैन । पार्टीको बैठक समयमा बस्दैन’ प्रचण्डले सम्बोधनका क्रममा भन्नुभएको थियो–‘पार्टी एकता ऐतिहासिक कदम थियो । त्यसबेला नेता कार्यकर्तामा जुन उत्साह थियो, त्यो अहिले हराउँदै र कमजोर बन्दै गएको छ । यसले गर्दा कम्युनिस्ट आन्दोलन नै संकटमा परेको होकि भन्ने प्रश्न उठ्न थालिसकेको छ । यस्तै अवस्था रहने हो भने पार्टी एकताको उदेश्य पुरा हुँदैन र त्यसपछि हामीसँग पश्चाताप गर्नुको पनि विकल्प रहँदैन ।’
प्रधानमन्त्री समेत रहनुभएका ओलीले सरकारले गरेका कामको फेहरिस्त सुनाइरहँदा बरिष्ठ नेता माधवकुमार नेपालले आफैं मात्रै ठिक र आफुले गरेको काम मात्रै राम्रो भन्ने प्रवृत्तिको विरोध गर्नुभएको थियो । ‘आफुले गरेको काम मात्रै राम्रो हुने ? अरुले गरेको कामचाही नराम्रो देख्ने प्रवृति ठिक होइन’, नेपाल बीचैमा बोल्न थालेपछि ओलीले आफ्नो पालामा बोल्न सुझाव दिनुभएको थियो । ‘माननीय सहित सबैले बोल्न पाउनुहुन्छ । आफ्नो पालामा बोल्दा राम्रो हुन्छ कि मान्य ज्यु ?’ ओलीले वीचमै प्रतिवाद गर्नुभएको थियो ।