नेकपाको स्थायी कमिटी बैठक आज बस्दैः वार कि पारको स्थिती !

नेकपाको स्थायी कमिटी बैठक आज बस्दैः वार कि पारको स्थिती !

१० असार, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक आज बस्दैछ । प्रत्येक ३ महिनामा बस्नुपर्ने स्थायी समिति बैठक गत पैष महिनायता बस्न सकेको थिएन । त्यसयता मुलुलकमा महत्त्वपूर्ण घट्नाक्रम भएपनि नेकपाले पार्टी कमिटिमा छलफल गर्न सकेको थिएन । जसले गर्दा नेकपामा असन्तुष्टि बढ्दै गएको थियो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा बिहान ११ बजे बस्ने बैठकमा एमसीसी, कोरोना, सरकार र पार्टी संचालनको समिक्षा, नागरिकता विधेयक लगायतका विषय मोटामोटी छलफलका विषय बन्ने सदस्यहरुको भनाइ छ ।

पार्टीमा निकै विवादित बनेको विषय अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सँगको कम्प्याक्ट सम्झौता संसदवाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा नेताहरुबीच सहमति हुन सकेको छैन ।

नेताहरुले अहिलेका जल्दाबल्दा विषय नै बैठकका एजेण्डा बन्ने र छलफल हुने बताएका छन् । पार्टीका बहुमत नेताहरु एमसीसीसँगको सम्झौता संशोधन नगरी अनुमोदन गर्न नहुने पक्षमा छन् । सोही कारण बैठकका एजेण्डा तय गर्न नै नेताहरुलाई सकस परेको बुझिएको छ ।

‘प्रायः स्थायी कमिटी बैठकमा त्यहीँ छलफल गरेर एजेण्डाहरु तय गर्ने गरिन्छ । यसपटक पनि त्यहीँ हुन्छ’, स्थायी समिति सदस्य बेदुराम भुषालले भन्नुभयो, ‘विगत बैठकदेखि अहिलेसम्मको कामको समीक्षा, आगामी कार्ययोजना, समसामयिक राजनीतिक विषय भन्ने हुन्छ । समसामयीक विषयभित्र एमसीसी पर्नेनै हुन्छ । किनभने कार्यदलले नै प्रतिवेदन बुझाइसकेको छ ।’

त्यसबाहेक कोरोना र नागरिकता विधेयक पनि छलफलका विषय बन्ने भुषालले जानकारी दिनुभयो । नागरिकता विधेयकबारे यसअघि बसेको सचिवालय बैठकले विदेशी बुहारीलाई सात वर्षपछि मात्रै अंगिकृत नागरिकता दिने निर्णय गरिसकेको छ ।

एमसीसीको वजेट कार्यान्वयन इकाई मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसिए नेपाल) ले सरकारलाई संसदवाट सम्झौता अनुमोदन गर्न दिएको म्याद अबको ६ दिन अर्थात असार १६ मा सकिँदैछ । तर सभामुख अग्नि सापकोटाले मंगलबारपछि एकैचोटी असार १७ गतेका लागि प्रतिनिधिसभाको बैठक तय गर्नुभएको छ ।

मंगलबार दिनभर प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष बामदेव गौतम लगायतका नेताहरुबीच एमसीसीबारे के गर्ने भनेर छलफल भएपनि कुनै निर्णय गर्न सकेनन् । त्यसक्रममा समय थप गर्न प्रस्ताव गर्ने विषयमा नेताहरुबीच कुराकानी भएपनि भएपनि कुनै निर्णय हुन नसकेको एक नेताले बताए । एमसीसी कार्यान्वयनको समयसीमा घर्कदै गएको र पार्टीभित्र एकमत बन्न नसकेकाले एमसीसीबारे नेकपाले के गर्ला भन्ने आम चासो बढ्दै गएको छ ।

संसदमा एक वर्षदेखि विचराधिन एमसीसी विवादमा परेपछि अध्ययनका लागि गत माघ १५ देखि १९ सम्म वसेको केन्द्रीय समिति वैठकले वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा स्थायी समिति सदस्य भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सदस्य रहेको अध्ययन कार्यदल बनाएको थियो । कार्यदलले सम्झौता परिमार्जनबिना संसदवाट अनुमोदन गर्न नहुने सुझाव दिएपछि सरकार दबाबमा पर्दै आएको छ ।

ओली सत्ता जोगाउन प्रयासरतः

माथीका केही विवादीत विषयहरुले अहिले प्रधानमन्त्री ओलीको सत्ता संकटमा छ । पार्टीभित्र र बाहिर ओली घेराबन्दीमा परेको निष्कर्ष उहाँकै निकटस्थले गरेका छन् । अब यसलाई तोड्न उहाँले अन्तिम अस्त्र प्रयोग गर्ने तयारी गरेका ेबुझिएको छ ।

स्रोतका अनुसार अब वरिष्ठ नेता माधवकुमार नेपाललाई मनाउन ओली प्रयासरत हुनुहुन्छ । उहाँले नेपाललाई अध्यक्ष दिएर भएपनि सत्ता टिकाउने तयारी गरेको बुझिएको छ । उहाँको प्रस्तावसहित निकटस्थले माधवकुमार नेपाललाई सम्पर्क गरिसकेका छन् । तर, नेपाल पक्ष यो प्रस्तावमा तयार नभएको बुझिएको छ ।

माधव नेपाल भने आफै प्रधानमन्त्री बन्ने तयारीमा हुनुहुन्छ । ओलीले त्यसको जानकारी समेत लिएको स्रोतले बतायो । तैपनि, माधव नेपाललाई मनाएर भएपनि एमसीसीबारे पार्टीमा निर्णय गराउने ओलीको तयारी भइरहेको छ ।

उता ओलीलाई हटाउन प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमको बलियो एकता भइसकेको छ । त्यसमा प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि संलग्न हुनुहुन्छ । रामबहादुर थापा बादल सरकारमा रहेकाले उहाँको प्रष्ट धारणा आएको छैन । अब सचिवालयका पाँच सदस्य दरिलो रुपमा अडिए ओलीका लागि सत्ता टिकाउन कठिन हुने देखिएको छ । तर, त्यो घेरा तोडेर जान ओली प्रयासरत रहेको स्रोत बताउछ ।

ओलीसँग माधवकुमार नेपाललाई मनाउने नभए कठोर निर्णय लिनेसम्मको तयारी रहेको उच्च स्रोतले जानकारी दिएको छ । त्यस्तो अवस्थामा नेकपा र देशमै ठुलै दुर्घटना सम्म हुनसक्छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर