६ असार, काठमाण्डौँ । आज थप ३ सय ३१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमित संख्या ८ हजार ६ सय ५ पुगेको छ ।
आज स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए अनुसार संक्रमितमध्ये पुरुष २ सय ८२ र महिला ४९ जना छन् । कुल संक्रमितमध्ये पुरुष ७ हजार ८ सय ४९ र महिला ७ सय ५६ जना छन् ।
असार महिनाभर कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ । आज पनि यो क्रम यथावत नै रह्यो ।
यसअघि हिजो कुल संक्रमित संख्या ८ हजार २ सय ७४ पुगेको थियो । जसमध्ये महिला ७ सय ७ र पुरुष ७ हजार ५ सय ६७ थिए ।
अहिलेसम्म २२ जना संक्रमितको मृत्यु भएको छ । जसमध्ये १७ पुरुष र ५ महिला छन् । कुल ७४ जिल्लामा संक्रमित पत्ता लागेका छन् । अब ३ जिल्लामा मात्र संक्रमित भेटिएका छैनन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ४ सय १६ पीसीआर परिक्षण भएको छ । यो सँगै अहिलेसम्म कुल १ लाख ६९ हजार १ सय ६५ जनाको पीसीआर प्रविधिबाट परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ४ सय २६ गरी आजसम्म कुल २ लाख ५२ हजार ३ सय परीक्षण भएको छ ।
मन्त्रालयका अनुसार शनिबार देशभर १ लाख २ हजार २ सय ४५ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै कुल ७ हजार ५ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।